+
+

प्रधानमन्त्री र उद्योगमन्त्रीका स्वकीय सचिव कन्सुलरमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:४२
जनकराज भट्ट र दुर्गाप्रसाद भुसाल

९ भदौ, काठमाडौं । प्रधानमन्त्री र उद्योगमन्त्रीका स्वकिय सचिव वाणिज्य कन्सुलर सिफारिस भएका छन् ।

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टलाई भारतको कोलकतास्थित नेपाली महावाणिज्य दूतावासका कन्सुलर र उद्योगमन्त्री दिलेन्द्र बढूका निजी सचिव दुर्गाप्रसाद भुसाललाई स्वीटजरल्याण्डको जेनेभास्थित महावाणिज्य दूतावासका कन्सुलर सिफारिस गरेका हुन् । भुसालले गत साता आफू वाणिज्य कन्सुलरमा सिफारिस भएको स्वीकार गरे ।

वैदेशिक व्यापार सहजीकरणका हिसावले महत्वपूर्ण मानिने यी दुई मिसनमा भट्ट र भुसालको पोष्टिङ आगामी मंसिरमा हुनेछ ।

कन्सुलर सिफारिससम्बन्धी कार्याविधिमा हेरफेर गरेर भट्ट र भुसाललाई कन्सुलर सिफारिस गरिएको भन्दै वाणिज्यका ‘क्याडर’हरुमा चर्को असन्तुष्टि छ । ‘महावाणिज्य दूतावासमा कन्सुलर सिफारिस हुन वाणिज्य मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय र द्विपक्षीय व्यापार सम्बन्धी विभागमा कम्तीमा २ वर्ष काम गरेको अनुभव चाहिन्छ,’ मन्त्रालय स्रोत भन्छ, ‘तर सिफारिस भएका भट्टसँग वाणिज्य मन्त्रालयमा काम गरेको अनुभव नै छैन । उद्योग विभागमा रहेका भुसालले वाणिज्यमा काम गरेको १० महिना पनि पुगेको छैन ।’

योग्यताबारे उठेको प्रश्नमा उपसचिव भुसालले भने, ‘६ वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छु । जापानमा यही विषयमा पढेको हुँ । मेरो योग्यतामा प्रश्न उठाउने को हो, जानकारी पाउन सकिन्छ ?’

तीन वर्षका लागि सिफारिस हुने कन्सुलर पद डलरमा तलबभत्ता पाइने वैदेशिक सेवा भएका कारण वाणिज्यवृत्तमा निकै आकर्षक मानिन्छ । हाल कोलकत्तामा तर्कराज भट्ट र जेनेभामा बुद्धिप्रसाद उपाध्याय कन्सुलर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?