
१० भदौ, धनगढी । अछाम प्रहरीले सासुमाथि बुहारीले कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई सम्मान गरेको छ ।
पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले पारिवारिक हिंसालाई भिडियोमा खिचेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले सम्मान गरिएको बताए ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरेको प्रहरी निरीक्षक विष्टले बताए ।
गत बुधबार पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो ती बालकले खिचेका थिए । उनी सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् । उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा लुकेर भिडियो बनाएका थिए । सोही भिडियोका आधारमा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको थियो ।
कुटपिटमा संलग्न अर्की महिला ३५ वर्षीया धर्मा न्यौपानेलाई यसअघि पीडित जैसराकी बुहारी भनिए पनि उनी देवरानी रहेको खुलेको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट ३ दिन म्याद थप गरी अछाम प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4