
बुबा,
आज कुसे औंशी
हजुरको मुख हेर्ने दिन
त्यसैले,
फेसबुकमा फोटो राखेको छु
वालमा महिमा गाएको छु
हजुरको गुनगानमा
सम्झनामा
सबै सबै वाल भरेको छु
प्रोफाइलमा पनि हजुरकै फोटो फेर्दैछु
हो बुबा !
मैले हजुरको मुख हेर्दैछु ।
जिम्मेवारीको भारी बोक्दा झरेको केस
अभावै अभावले चाउरिएको गाला
खोरिया खोस्रिंदा खिएको नङ्ग्रा
उकाली ओराली गर्दा फुटेका पैताला
मलाई हुर्काउँदा झरेको पसिना
पढाउँदा लागेको ऋण
म परदेशिंदा खसेको आँसु
सबैको एक मुष्ट गुन तिर्दैछु
हो बुबा !
फेसबुकबाटै हजुरको मुख हेर्दैछु ।
आज अनायासै हजुरको याद आएको छ
सञ्चो बिसञ्चो सोध्न मन लागेको छ
आफ्नै हातले मीठो मसिनो खुवाउन
खाडीको दौरा सुरुवाल
अल्लोको स्टकोट
बार हाते पटुकी
खुट्टामा जुत्ता
शीरमा ढाका टोपी
एकथान दाप खुकुरी
सबै किनिदिन मन लागेको छ
शहरको व्यस्त दैनिकीमा
भोलि बिर्सिन पनि त सक्छु
त्यसैले आजै घोषणा गर्दैछु
हो बुबा!
फेसबुकवाटैं हजुरको मुख हेर्दैछु ।
हजुरको फोटो
धेरैले मनपराएका छन्
धेरैले गुनगान गाएका छन्
मैले धेरै लाइक कमाएको छु
मैले कमाउनु भनेको त
तपाईंको पनि गर्वको कुरा होइन् र?
यो पालिलाई त जसोतसो
हजुरको फोटो जुटाए
अर्को साल पनि त मुख हेर्नुपर्छ
एउटा फोटो पठाउन नभुल्नु फेरि
त्यसैले आजै यो पत्र कोर्दैछु
हो बुबा !
फेसबुक बाटै हजुरको मुख हेर्दैछु ।
प्रतिक्रिया 4