
काठमाडौं । दुई चिनियाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ । अर्को एक फिल्मको निर्माण नेपाली र चिनियाँ निर्माताले संयुक्त रुपमा गर्ने भएका छन् ।
बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ अन्तर्गत आयोजित समारोहमा यस्तो सहमति भएको हो । नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबीच फिल्म निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जसअनुसार चिनियाँ फिल्म ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ नामक फिल्म नेपालमै सुटिङ हुने भएको हो । साथै चिनियाँ र नेपाली निर्माताबीचको सहकार्यमा फिल्म ‘भृकुटी’ पनि निर्माण हुने भएको छ । शुक्रबार नै यो फिल्म बनाउनेबारे दुई पक्षबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर समेत भएको छ । फिल्म ‘भृकुटी’ निर्देशन सुवर्ण थापाले गर्ने भएका छन् । यसको लेखन पनि थापा स्वयं र तेजेन्द्र शेरचनले गर्ने भएका छन् ।
थापा निर्देशित फिल्म ‘राधा’लाई शुक्रबार नै चीनको राजधानी बेइजिङमा समेत प्रदर्शन गरिएको छ । चाइना पर्फमेन्स अफ इन्डष्ट्रिज एसोसिएसनको समन्वयमा आयोजित उक्त फेस्टिभलमा फिल्म प्रदर्शन गरिएको हो ।
फिल्म छायांकन र निर्माणसँग सम्बन्धित उक्त भर्चुअल समारोहमा निर्देशक थापा र गायिका आनी छोइङ डोल्माले पनि महोत्सव र चिनियाँ दर्शकप्रति सद्भाव व्यक्त गरे ।
प्रतिक्रिया 4