
काठमाडौं । निर्देशक सुदर्शन थापाले कलाकारलाई भारी बोकाउँदा नेपाली फिल्म चुकेको टिप्पणी गरेका छन् ।
आफू निर्देशित फिल्म सम्हालिन्छ कहिले मनको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मातालाई नभएर कलाकारलाई प्राथमिकता दिंदा अहिलेको अवस्था आएको बताए ।
‘हामीले एक्टरलाई भारी बोकाइदिएका छौं । बोकाउनुपर्ने मेकरलाई हो । मेकरलाई प्राथमिकता नदिंदा हामी चुकेका छौं,’ उनले भने । कथावस्तुको खोजीमा लाग्दा निर्माणमा चुकेको उनको दाबी छ ।
नेपाली फिल्मलाई कन्टेन्ट, अर्गानिक, नेपालीपन जस्ता कुरामा वर्गीकरण गरिएको भन्दै उनले फिल्म राम्रो वा नराम्रो मात्र हुने तर्क गरे । आफू निर्देशित पछिल्लो फिल्म सम्हालिन्छ कहिले मनले दर्शकलाई ज्ञान र शिक्षा बाँड्ने नभई विशुद्ध मनोरञ्जन मात्र दिने उनले बताए ।
यो फिल्मलाई लण्डनसहित विभिन्न बेलायती सहरमा छायांकन गरिएको छ । किन विदेश त ? सुदर्शन भन्छन्, ‘मुस्ताङ र उपल्लो मुस्ताङमा छायांकन हुने बित्तिकै त्यसलाई नेपाली भन्ने, तर दुबई र अमेरिकामा खिच्ने बित्तिकै त्यसलाई नेपाली होइन भन्ने कुरा गलत हुन् ।’
१२ वर्षअघिको हिट गीतमै आधारित रहेर फिल्म बनाउनु चुनौतीपूर्ण भए पनि यसले गीतलाई न्याय गर्ने थापाको दाबी छ । गायक सुगम पोखरेलले समेत फिल्मको गीत सुनेर राम्रो प्रतिक्रिया दिएको उनले बताए ।
फिल्ममार्फत कभर गायक सोनम तोप्देनले अभिनयमा डेब्यु गरेका छन् । सोनममा इमान्दारिता भएकाले मुख्य भूमिकामा लिएको निर्देशक थापाले बताए ।
सोनमले पनि फिल्म रिलिजपछि मात्र आफू अन्य फिल्ममा जोडिने बताए । संगीत र फिल्मलाई सँगै अघि बढाउने उनको योजना छ । यो फिल्ममा रोमियो चरित्रमा अभिनय गर्दा आफ्नो बाल्यकालीन स्मरण ताजा भएको उनले सुनाए । आगामी एक प्रोजेक्टमा पनि सोनमसँग सहकार्य गर्न लागेको सुदर्शनले खुलाए ।
अभिनेत्री पूजा शर्माले आफ्नो वास्तविक जीवनसँग ‘सम्हालिन्छ कहिले मन’को कथावस्तु निकट रहेको बताइन् । ‘पाउनु मात्र माया होइन । यसको कथावस्तु र मेरो जीवनको यथार्थ पनि मिलेको छ,’ उनले भनिन् । सुदर्शनप्रतिको विश्वासले नै आफूलाई फिल्म गर्न प्रेरित गरेको उनले बताइन् ।
पूजाले भनिन्, ‘फिल्म स्टारले होइन, कन्टेन्टले चल्ने रहेछ ।’
अभिनेता आकाश श्रेष्ठले पनि फिल्ममा आफ्नो ‘लार्जर द्यान लाइफ’ चरित्र रहेको बताउँदै आफूलाई सामाजिक सन्देश दिने खालका पात्रमा काम गर्न लागेको चाहना सुनाए ।
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
प्रतिक्रिया 4