
काठमाडौं । दिवंगत र्यापर यमबुद्धको सम्झनामा आगामी असोज १ गते यमबुद्ध शान्ति दौड आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यमबुद्ध फाउन्डेसनले उक्त जानकारी गराएको हो ।
फाउन्डेसन अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले दौडमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सहित खेलकुद तथा सांगीतिक क्षेत्रका व्यक्तित्वले भाग लिने जानकारी दिए ।
अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताए । ‘हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं,’ उनले भने ।
फाउन्डेसनले आगामी दिनमा सामाजिक सेवाका कार्यलाई तीव्रता दिने उनले बताए । दौडको थालनी नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीं आएर समापन हुनेछ ।
वास्तविक नाम अनिल अधिकारी भए पनि यमबुद्धबाट परिचित उनको निधन बेलायतमा भएको थियो । उनले केही नेपाली फिल्ममा समेत स्वर दिएका छन् । उनले सुरुवात गरेको रअ बार्ज र्याप प्रतिस्पर्धाले नेपाली हिपहपलाई उकासेको थियो । बालेन पनि रअ बार्जकै उत्पादन हुन् ।
प्रतिक्रिया 4