
काठमाडौं । गायक विपुल क्षेत्रीले काठमाडौंको बौद्धमा सांगीतिक प्रस्तुति दिएका छन् । शनिबार साँझ आयोजित कन्सर्टमा विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्य समेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे ।
हावा चल्यो यहाँ बेस्सरी, हल्लियो बाँसघारी, उडी जाउँ भने, चरी म हैन बस्न पनि यहाँ मन छैन लगायत हिट गीत उनले गाए । शनिबार उनको जन्मदिन पनि थियो ।
जन्मदिनको शुभकामना सम्झिएर उनले स्टेजमा गितार बजाउँदै सबैलाई मख्ख तुल्याए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो । चर्या नृत्यले पनि उपस्थित अतिथिलाई मन्त्रमुग्ध बनायो ।
यो सांगीतिक माहोलको सन्दर्भ थियो, निर्माण गर्न लागिएको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रम ।
अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बौद्ध धर्मगुरु जोङ्सार खिन्से रिम्पोछे (खिन्से नोर्बु)को परिकल्पनामा तयार हुन लागेको उक्त हाउसको शिलान्यास कार्यक्रममा विपुलदेखि सुकर्म ब्यान्डसम्म गुञ्जिए ।
सोही अवसरमा सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गड : हु विल बी’ मञ्चन समेत गरिएको थियो ।
साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँले बताए । उक्त भवनमा कलाका सबै विधालाई समेटिने उनले जानकारी दिए । उनका अनुसार भवनलाई नाटक, पेन्टिङ, कविता, थाङ्का, तालिम केन्द्र, थिएटर र ग्यालरीको रुपमा विकास गरिने भएको छ । साथै, पाहुना गृह, क्याफे पनि बनाइने भएको छ ।
बानियाँले अनलाइनखबरसँग भने, ‘यसलाई बौद्ध धर्मावम्बीको रुपमा मात्र सीमित नगरी सबै कलाप्रेमीको गन्तव्य केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ ।’
रिम्पोछेको निर्देशन रहेको फिल्म ‘डाकिनी’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4