
१२ भदौ, काठमाडौं । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग भेट्दै यस्तो जानकारी गराएका हुन् ।
गौशालास्थित हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारका लागि हेटौंडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको थियो । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो ।
मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र खपत नभई, धेरै देशमा निर्यात हुने भन्दै मन्त्री शर्माले नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने बताए ।
अस्पतालले अहिले आँखाको नानी, आँखाको पर्दा, जलबिन्दु, युभीआईटीस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायत सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा विभिन्न मुलुकका प्रशिक्षार्थीले विशेषज्ञ तालिम समेत लिने गरेका छन् ।
प्रतिक्रिया 4