
एप्पलको आइफोन, आइप्याड तथा आइपोड आदिको मूल्य कति पर्दछ भन्ने त स्मार्टफोनका पारखीहरू सबैलाई थाहै भएको कुरा हो । तर यदि कसैले तपाईंलाई एप्पलको पहिलो आइफोन अर्थात् आइफोन १ को मूल्य अहिले कति पर्ला भनेर सोध्यो भने के भन्नुहुन्छ ? यसको सबैभन्दा सजिलो तरिका भनेकै उक्त फोनलाई लिलामीमा राख्नु नै हो, जहाँ बजारले नै बढाबढबाट त्यसको मूल्य निर्धारण गर्नेछ ।
यस्तै एउटा आइफोन वान अमेरिकामा लिलामी भएको छ । बक्स नै नखोलिएको अर्थात् प्रयोग नै नभएको आइफोन वान ३५ हजार ४१४ अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।
त्यस्तै सन् २००१ मा लञ्च भएको पहिलो आइपोड पनि २५ हजार डलर अर्थात् करिब ३२ लाखमा बिक्री भएको छ । आर आर अक्सनले ती सामान लिलाम गरेको हो ।
उसो त पहिलो जेनेरेसनको उक्त दुर्लभ आइफोनको मूल्य लाखौं डलरमा हुनसक्दथ्यो । तर, लिलामीका क्रममा त्यसलाई करिब ३५ हजार डलरमै बिक्री गरियो ।
स्मरण रहोस् उक्त लिलामीका क्रममा एप्पल वान कम्प्युटरको सर्किट बोर्ड पनि बिक्री गरियो, जसलाई एप्पलको संस्थापक स्टिफेन वज्नियाक आफैंले तयार गरेका थिए । उक्त सर्किट बोर्डलाई ६ लाख ७७ हजार १९६डलर अर्थात् करिब ९ करोड रुपैयाँ परेको थियो ।
पहिलो आइफोनमा २ मेगापिक्सेल क्यामेरा तथा भिजुअल भ्वाइसमेल क्षमता थियो । सन् २००७ को जुन महिनामा लञ्च भएको आइफोन वान दुईवटा भेरिएन्टमा उपलब्ध थियो । जसमा ४ जिबीको मूल्य ४ सय ९९ डलर तथा ८ जिबी भेरिएन्टको मूल्य ५९९ डलर थियो । साथै यसमा एमपी थ्री प्लेयर, वेब ब्राउजर तथा अन्य विभिन्न फिचरहरू थिए । ती सबै फिचर उक्त समयका लागि अत्यधिक हाइटेक थिए ।
लाखौं डलरमा हुन्छ लिलामी
वास्तवमा पुराना तर प्रयोग नगरिएका वा नखोलिएका ग्याजेटहरू संसारभर नै निकै महँगो मूल्यमा बिक्री हुने गर्दछन् । तथापि आइफोन वानले सोचेजस्तो मूल्य पाउन सकेन । यसअघि निन्टेन्डोको भिडियो गेम Super Mario 64 को नखोलिएको संस्करण साढे १५ लाख डलरमा बिक्री भएको थियो ।
सुुपर मारियो ६४ संसारको सबैभन्दा लोकप्रिय भिडियो गेममा एक हो । हालै लिलाम भएको आइफोन पनि यस्तै दुर्लभ ग्याजेट हो ।
प्रविधि क्षेत्रमा यो डिभाइस आफैंमा एक कोशेढुंगा हो किनकि यसले वास्तवमा स्मार्टफोनकेा युग सुरु गरेको थियो ।
एजेन्सी
प्रतिक्रिया 4