
काठमाडौं । चिरञ्जीवी र सलमान खान स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ ।
नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए ।
यसै साता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य जोमसोम पुगेका थिए । अहिलेलाई लोकेसन हेर्ने काम भए पनि फिल्म नेपालमै सुटिङ हुने वा नहुने टुंगो चाहिं मंगलबारसम्म लाग्नेछ ।
‘उहाँहरुलाई लोकेसन मन परेको छ । जोमसोममा सुटिङ गर्नेबारे उहाँहरुले भोलि वा पर्सि मात्र निधो दिन्छु भन्नुभएको छ,’ आचार्यले भने, ‘यदि उहाँहरुले निधो गर्नुभयो भने सेप्टेम्बर १५ भित्र छायांकन भइसक्छ ।’
खासमा ५ मिनेटको दृश्य छायांकनको लागि मात्र खिच्ने तयारी भएको हो । ‘सुरुमा नर्वेमा छायांकन गर्ने उहाँहरुको योजना रहेछ । नेपालमा सुटिङ गर्दा सजिलो र भिसा तथा प्लेनको खर्च पनि जोगिने अनि नेपालको पर्यटनलाई पनि फाइदा हुने भन्दै हामीले कन्भिन्स गरेका हौं,’ आचार्यले भने ।

मोहन राजा निर्देशित फिल्म अक्टोबर ५ मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ भने टिजर पनि सार्वजनिक भइसकेको छ । आचार्य प्रमुख रहेको थ्री ह्विलर्सकै व्यवस्थापनमा यसअघि बलिउड फिल्म ‘उचाई’को छायांकन पनि नेपालमै भएको थियो ।
प्रतिक्रिया 4