
१३ भदौ,बुटवल । गत २ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गर्यो । हवाई उडानमार्फत लुम्बिनी घुम्न आउने पर्यटकलाई घुमाउन एसियाली विकास बैंक (एडीबी) ले अनुदानमा बिजुली गाडी पनि उपलब्ध गराएको छ । तर २० महिना अघि अनुदानमा उपलब्ध बिजुली गाडीहरु भने अझै चल्न सकेका छैनन् ।
सन् २०१८ मा विद्युतीय गाडी, चार्जिङ स्टेशन र सोलार समेत उपलब्ध गराउने सम्झौता अनुरूप २० महिनाअघि १९ सिटे पाँच वटा विद्युतीय बस र पाँच सिटे १४ वटा विद्युतीय भ्यान लुम्बिनी आइपुगेका थिए । कार्यविधि नबन्दा लुम्बिनी विकास कोषलाई हस्तान्तरण हुन ढिलाई हुँदा सवारी साधनहरु चल्न नपाएर थन्किएका हुन् ।
एसियाली विकास बैंकको करिब ३५ करोड अनुदानमा क्लिन इनर्जी प्रोजेक्टमार्फत् आयात भएका विद्युतीय बस र भ्यानका लागि भन्सार शुल्क मात्रै ८ करोड तिरेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए । विद्युतीय गाडीसँगै गाडी चार्जको लागि चार्जिङ स्टेशन र सोलार प्लान्ट पनि दुई वर्ष अघि नै जडान गरिएको थियो । गाडीहरू चार्जिङका लागि सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत् चार्जिङ स्टेशनमा पठाइसकिएको छ ।
कोरोना महामारीका बीचमै ल्याइएका कतिपय गाडीहरू लामो समय सञ्चालनमा नआउँदा बिग्रने जोखिम बढेको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले सञ्चालन कार्यविधि बनाउन ढिला हुँदा बस र भ्यान चलाउन नसकिएको बताए ।
भैरहवा विमानस्थलमा ओर्लने पर्यटकलाई लुम्बिनी घुमाउन विद्युतीय बस र भ्यान चलाउने योजना रहेको शाक्यले बताए ।
वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोकासहित अन्तर्राष्ट्रिय मापदण्डका यी बसमा कार्ड मार्फत भुक्तानी गर्ने अटोमेटिक सिस्टम जडित रहेको कोषले जनाएको छ । एक पटक फुल चार्ज गर्दा बस चार सय किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ । चार्जिङ स्टेशनमा गाडी चार्ज गर्न मिल्ने ३३ वटा स्ट्यान्ड राखिएको छ । त्यस्तै इलेक्ट्रिक रिक्सा चार्जको लागि समेत प्वाइन्ट राखिएको छ ।
एडीबीले चार्जिङ स्टेशनका लागि मात्रै १३ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो ।
पर्यटन मन्त्रीलाई बुझाइयो प्रतिवेदन
लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन र कार्यविधि तयार पारेर बुझाएको छ ।
कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठीत इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाएको हो । प्रतिवेदनमा बिद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरुको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
उनका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडा भन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरुको अग्रिम र नियमीत बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्ने समेत प्रतिवेदनमा भनिएको छ ।

प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्राण्ड नाम धम्म यात्रा राखिएको छ ।
धम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र एयरपोर्ट जोडने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाइ गठनसँगै स्टाफहरु चालकहरु करार गर्ने प्रस्ताव गरेको छ भने ३ चरणका कार्ययोजना अघि सारेको छ । जसमा अफिसियल परीक्षण ५ दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन २ महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी ३ वटा चरण प्रस्ताव गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा ई–भ्यान सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । कार्यविधि पारित भएपछि मात्रै विद्युतीय बस र भ्यानसञ्चालन गर्न बाटो खुल्ने छ ।
गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरुलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरु एसियाली क्लिन इनर्जी फण्डकोसहयोगमा वातावरण मैत्री तथा वैकल्पीक उर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो ।
कार्यदलले आइतबार नै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलय रत्नपार्कमा प्राधिकरणका वैकल्पिक उर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर कम्पनी सिमेक्स प्रालि,सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनि इशाकासँग बैठक गरी घटस्थापना अघि नै प्राविधि पक्षचुस्त बनाउन प्रतिबद्धता लिएको छ ।
प्रतिक्रिया 4