
१३ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ समितिले प्रत्यक्ष र समानुपातिक पद्धतितर्फ सांसद भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई निर्देशन दिएको छ ।
‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन’, माओवादीको आन्तरिक निर्देशनमा भनिएको छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नुभएका कमरेडहरुको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गर्न पाइने छैन ।’
आन्तरिक निर्देशनमा सबै उम्मेदवारहरुको सिफारिस सम्बन्धित समिति बैठकको माइन्यूट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि आग्रह गरिएको छ ।
माओवादी केन्द्रले एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारीहरु, सांसदहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पार्टीका प्रदेश सदस्य, प्रद्येश निवाृचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरुको संयुक्त बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जनाको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि सिफारिस गर्नुपर्ने निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया 4