
१३ भदौ, काठमाडौं । मुलुककै दोस्रो ठूलो सिमेन्ट उद्योग ह्वासिन सिमेन्टले व्यावसायिक उत्पादन र बिक्रीको अनुमति पाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले धादिङको ताल्तीमा रहेको उद्योगबाट उत्पादित सिमेन्टलाई सोमबार नेपाल गुणस्तर प्रमाण चिन्ह दिएको हो ।
विभागकी प्रवक्ता ज्योति जोशी भट्टले आइतबारको निर्णय बमोजिम ह्वासिन सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट ५३ ग्रेडको गुणस्तर प्रमाण चिन्ह पाएको बताइन् ।
‘सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट ५३ ग्रेडको नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको छ,’ जोशीले भनिन्, ‘उद्योगको व्यावसायिक उत्पादन र बिक्रीको बाटो अब खुलेको छ ।’
विभागबाट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको उद्योगले जनाएको छ । ‘हामीले गत मंसिरमा गरेको आवेदन बमोजिम नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छौं,’ उद्योगका एक अधिकारीले भने, ‘अब उद्योगबाट उत्पादित ओपीसी र सिमेन्टको व्यावसायिक उत्पादन सुरु भएको छ ।’
उनका अनुसार उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । सिमेन्टको काठमाडौंको मूल्य ओपीसी सिमेन्टको प्रतिबोरा मूल्य ६५० र पीपीसीको ५५० रुपैयाँ तोकिएको छ ।
नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबै भन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा ह्वासिन सिमेन्टलाई लिइन्छ ।
कुल १५ अर्ब लगानीमा लगानीमा २०७५ सालमा सिमेन्ट उद्योगको शिलान्यास भएको थियो । ११ महिनामा निर्माण सकेर व्यावसायिक उत्पादनमा जाने भनिए पनि उद्योगले राजनीतिक, प्रशासनिकसँगै प्राकृतिक अवरोध समेत झेलेको थियो ।
प्रतिक्रिया 4