
१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको चालु पूँजी कर्जाको सीमाले व्यवसायीलाई हतोत्साहित बनाएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ ।
चालु पूँजी कर्जाको सीमा निर्धारण बैंक तथा वित्तीय संस्थाहरु एवं उद्योगी व्यवसायीबीचको समन्वयमा हुनुपर्ने भन्दै चालु पूँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको चेम्बरको निष्कर्ष छ ।
नेपाल राष्ट्र बैंकले २ करोड भन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक कारोबारको २५ प्रतिशत मात्र रहने गरी सीमा तोकेको छ ।
यस प्रावधानले आवश्कता अनुसार कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधि विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्ने समेत चेम्बरको प्रतिक्रिया छ ।
चालु पूँजी कर्जा लिएपछि ऋणीले चल्ति खाता र कर्जा खाता छुट्टा-छुट्टै सञ्चालन गर्नुपर्ने भएकाले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले व्याजको दायित्व झन बढ्ने समेत चेम्बरले जनाएको छ ।
चेम्बरले एकल रुपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गर्न सुझाव दिएको छ । नवीकरण अगाडि शून्य खाता कायम हुनुपर्ने प्रावधानमा केही लचकता अपनाइए पनि यो प्रावधान अव्यवहारिक रहेको चेम्बरले बताएको छ ।
वार्षिक कर्जा नवीकरण गर्दा ७ दिन शून्य बक्यौता राख्ने बुँदालाई हटाउन समेत माग गरिएको छ । दुई करोड वा त्यो भन्दा माथिको चालु पूँजी कर्जाको सीमा ५० प्रतिशत कायम गर्न माग गरिएको छ ।
अनुमानित वित्तीय विवरण एवं लेखा परीक्षण भएको वित्तीय विवरण समय परिस्थिती अनुसार हेरफेर भइरहने हुनाले यस्तो भेरियन्सलाई आधार बनाएर चालु पूँजी परिवर्तन गरिनु नहुने समेत चेम्बरको माग छ ।
प्रतिक्रिया 4