+
+

सुदूरपश्चिममा नेता ठेकेदारको मनपरी, वर्षौंसम्म अलपत्र छन् योजना

रामहरि ओझा रामहरि ओझा
२०७९ भदौ १३ गते १९:०९

१३ भदौ, काठमाडौं । ‘भीमबहादुर साउँद ऐतिहासिक अछाम दरबारका ठेकेदार हुन् । यो दरबार अछामी जनताको साझा सम्पदा हो वा यो दरबार ठेकेदार भीम साउँदको हो ? जनता जान्न चाहन्छन् ।”

केही दिनअघि निर्माणाधीन मंगलसेन दरबारको भित्तामा टाँसिएको व्यानरमा माथिको हरफ लेखिएको थियो । सशस्त्र द्वन्द्वका समयमा २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको अछाम जिल्लाको ऐतिहासिक मंगलसेन दरबार पुनः निर्माणको कार्य ठेक्का सम्झौता भएको १४ बर्ष बितिसक्दा समेत पूरा भएको छैन ।

सम्झौता भएको दुई बर्षभित्रै काम सम्पन्न गर्ने भनी २०६५ साल असार २४ गते राजेन्द्र, साउँद, तुल्छीदुर्गा, बडीमालिका र कुवेर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाख रुपैयाँमा दरबार निर्माणको ठेक्का लिएका थिए ।

निर्माण व्यवसायीहरुबीच कुरा नमिलेपछि राजेन्द्र र साउँद निर्माणले उक्त ठेक्काको काम गरिरहेका छन् । १४ बर्षमा ८५ प्रतिशत मात्रै भएको छ ।

डडेल्धुराको डाँडावन भन्ने ठाउँमा (रडुवा खोला) निर्माण हुन लागेको सडक पुल २०७४ मै बनिसक्नुपर्ने थियो । राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा पाएको पुल आठ बर्ष बितिसक्दा पनि तयार भएको छैन । चार करोड ८२ लाख, ५७ हजार रुपैयाँमा निर्माण हुन लागेको पुलको चार पटक थपिएको म्याद समाप्त भएको छ ।

हालसम्म भौतिक प्रगति भने करीव ६० प्रतिशत मात्रै भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेका इन्जिनियर रवीन्द्र पन्त बताउँछन् ।

२०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथिको पक्कीपुलको हालसम्म २० प्रतिशत मात्रै काम भएको छ ।

२९ असार २०७१ मा ठेक्का सम्झौता हुँदा ३ वर्षमा काम सक्ने भनिएको थियो । इन्जिनियर पन्तका अनुसार सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार यस ठेक्काको म्याद ०८० असारसम्म थपिने भएको छ । २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने तीन सय २० सय मिटर लामो पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।

दार्चुलाको श्रीबगड, लास्कु र पुलघाट तटवन्धन योजनामा पनि राजेन्द्र निर्माण सेवाले समयमै काम गर्न सकेन । दुई बर्षमै काम सम्पन्न गर्नुपर्ने गरी २०७६ साल असारमा भएको सम्झौताको म्याद सकिएपछि २०७८ चैत्रसम्मका लागि म्याद थप भयो । त्यसपछि फेरि २०७९ असारसम्म म्याद थप भयो । त्यति हुँदा पनि काम सम्पन्न भएको छैन ।

‘राजेन्द्र निर्माण सेवासँग दुईवटा प्याकेजको सम्झौता भएको छ’, महाकाली नदी नियन्त्रण आयोजना कार्यालयका सूचना अधिकारी स्मित श्रेष्ठ भन्छन्, ‘१८ नम्बरको प्याकेजमा करीव ४५ प्रतिशत काम भएको छ, प्याकेज नं. १९ मा करीव ३० प्रतिशत काम भएको छ ।’ १८ नम्बरका लागि नौ करोड र १९ नम्बरका लागि ११ करोड रुपैयाँ सम्झौता रहेको रहेको श्रेष्ठले बताए ।

३० पुस २०७८ मा सम्पन्न गरिसक्नु पर्ने गरी २०७८ असार ३० गते सम्झौता भएको सिलगढी कलेना सडक निर्माणको जिम्मा पनि राजेन्द्र–पि एस जेभीले पाएको थियो । सम्झौता हुँदाका बखतको म्याद समाप्त भएपछि ०७९ चैत्रसम्मका लागि पुनः म्याद थप भएको छ । हालसम्म यस सडकमा करीव ६० प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्राविधिक मञ्जु कुँवरले जानकारी दिइन् ।

कलेना सडकको लागि सम्झौता भएकै दिन सम्झौता भएको सिलगढी बगलेक सडकको काम असार २४ गतेनै समाप्त भईसकेको छ । उक्त सडक निर्माणको जिम्मा चन्द्रा एण्ड बसन्ताले पाएको थियो ।

राजेन्द्र निर्माण सेवा समेतले जिल्लावारी पाएका बुडर जोरायल सडक अन्तरगतका दुई ठेक्का पनि अल्पत्र छ । ०८० असार मसान्तसम्म काम सक्नु पर्ने गरि भएका सम्झौताहरुमा हालसम्म १५ प्रतिशत जति मात्रै काम भएको कुँवरले बताइन् ।

डोटीको जोरायल गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने ठेक्का पनि राजेन्द्र निर्माण सेवाले पायो । २०७८ साल असारमा सम्झौता गरी पेश्की समेत बुझेको निर्माण कम्पनी हालसम्म पनि निर्माण स्थलमा फर्केको छैन । ‘गाउँपालिकाले टेण्डर ग¥यो घटाघटमा राजेन्द्र निर्माण सेवाको प¥यो’ जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट भन्छन्, ‘निर्माण कार्य अहिलेसम्म सुरु गरेको छैन ।’

राजेन्द्र निर्माण सेवाले एक्लै वा संयुक्त रुपमा जिम्मा लिएका पूर्वाधार निर्माणका यी योजनाहरुमा म्याद थपिदै जान्छ तर प्रगति कछुवा गतिमा भइरहेको देखिन्छ । ‘क’ वर्गको निर्माण व्यवसायी कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्जालक भिमवहादुर साउँद हुन्् । २०७४ सालको स्थानीय तह निर्वाचनबाट डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख निर्वाचित भएका साउँद हाल नेपाली कांग्रेस डडेल्धुराका सभापति छन् ।

साउँद मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि डडेल्धुरा ‘ख’ बाट सशक्त दावेदार छन् । उनी प्रधानमन्त्री शेरवहादुर देउवाका विश्वास पात्र समेत मानिन्छन् ।

पटक पटक किन थपिन्छ म्याद ?

सरकारले असार २० गते सार्वजनिक खरीद नियमावलीमा १२औं पटक संशोधन गरेको छ । उक्त संसोधन अनुसार २०७९ साल असार मसान्तमा म्याद सकिने सबै ठेक्काको अन्तिम पटकका लागि भन्दै ०८० असार मसान्तसम्म म्याद थप गर्न मिल्ने भएको छ ।

‘हो, यसरीनै हो पटक पटक म्याद थप हुने’ एक कर्मचारी भन्छन् ‘ठूला ठेकेदारहरुले नेतालाई दबाव दिन्छन्, नेताहरुले नियम बनाउँछन्’, नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन् ‘ती ठेकेदारहरु पनि त कुनै न कुनै पार्टीका नेता कार्यकर्ता त हुन्छन् नि !’

दार्चुलाको महाकाली नियन्त्रण आयोजनाको कार्यालय फेरि म्याद थप गर्ने पक्षमा थिएन । ‘पटक पटक म्याद थप्दा समेत काम गर्न नसकेकोले आफुहरुले निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने तयारी गरेका थियौं’ कार्यालयका सूचना अधिकारी श्रेष्ठले भने ‘तर सरकारले फरि म्याद थप्न पाउने गरी नियम बनाएपछि ठेक्का सम्झौताको म्याद ०८० असार मसान्तसम्म थप हुने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?