
१३ भदाै, काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा नीति, २०७९ सम्बन्धी प्रस्ताव तयार गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएकाे छ । उक्त नीति नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने समितिले जनाएकाे छ ।
साेमबार समितिले पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नयाँ बीमा ऐन र राष्ट्रिय बीमा नीति आएपछि देशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारले नयाँ फड्को मार्ने समितिको विश्वास रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले बताए ।
समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तयार गरेकाे राष्ट्रिय बीमा नीतिले सरकारलाई पनि गाइड गर्ने र अहिले स्वास्थ्य बीमाकाे देखिएकाे अन्याेलता हट्नुका साथै गरिबी निवारणमा समेत भूमिका खेल्न सक्ने दाबी गरे ।
बीमा समितिका अध्यक्ष सिलवालले १० प्रतिशत लघुबीमा पुर्याउन निर्देशन दिएकाे वर्षाैं हुँदा पनि ग्रामिण क्षेत्रका गरिबकाे बीमा नभएकाेले उनीहरूकाे बीमा गर्न लघुबीमालाई लाइसेन्स दिन लागिएकाे बताए ।
आर्थिक रूपमा कमजाेर भएका विपन्नकाे पनि बीमा गर्न लघुबीमा र बीमा काेषकाे विषय अगाडि सारेकाे उनको भनाइ छ । गरिबी निवारणमा पनि बीमाले याेगदान दिन सक्ने भन्दै बीमामा सबैभन्दा ठूला सचेतनमा सरकारमा आउनुपर्ने उनले बताए।
‘गरिबी निवारणका लागि ३/४ वटा कार्यक्रम सरकारले ल्याएकाे छ । तर गरिबी २५ प्रतिशत छ,’ उनले भने, ‘तर, यी सबै कार्यक्रमले गर्न नसकेकाे काम बीमाले गर्छ ।’
अहिले बीमाकाे पहुँच ४० प्रतिशत छ भने पनि १० प्रतिशत भन्दा बढी पाेलिसी डुप्लिकेसन रहेकाे उनले दाबी गरे । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कूल निर्जीवन बीमालेख २ प्रतिशतले र कुल बीमाशुल्क संकलन १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको समितिले जनाएकाे छ ।
कुल गार्हस्थ उत्पादनमा बीमाको योगदान ३.६६ प्रतिशत र कूल बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब रहेको समितिले जनाएकाे छ । समितिले चालू आर्थिक वर्षमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र सीटीईभीटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बीमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाउने लगायतका कार्य गर्ने बताएकाे छ ।
काेराेना बीमाकाे दाबी भुक्तानी हुन्छ
बीमा समितिका अध्यक्ष सिलवालले काेराेना बीमाकाे दाबी भुक्तानी गर्न सरकारले तत्काल १ अर्ब निकासा गर्छु भनेकाे बताए । सरकारले उक्त रकम निकासा गरेपछि कोरोना बीमाको दाबी भुक्तानी हुने उनले बताए ।
गत साता मन्त्री र सचिव समेतकाे भेटमा अर्थमन्त्रीले अर्थ सचिवलाई तत्काल १ अर्ब निकासा गर्न निर्देशन दिएकाे सिलवालले जानकारी दिए ।
प्रतिक्रिया 4