
हिन्दु नारीहरूको महान् पर्वको रूपमा रहेको तीज हर्ष र उल्लासको पर्व मानिन्छ। तीजलाई हरितालिका पनि भनिन्छ। भगवान कृष्णको न्वारानमा गोकुलमा गोपिनीहरूले सुन्दर पहिरनमा सजिएर खुसी मनाएको दिनलाई पनि तीजको रूपमा मनाउन थालियो भन्ने धार्मिक विश्वास छ। साथै शिव-पार्वती विवाहको सन्दर्भदेखि विभिन्न धार्मिक मान्यतालाई पछ्याउँदै तीज पर्व मनाउने गरिन्छ।
तीज मनाउनुको पछि जे–जस्तो कारण रहेको भएता पनि यो हाम्रो धार्मिक आस्था हो। हामीले तीज पर्वको धार्मिक, सांस्कृतिक र पौराणिक मान्यताहरूको सम्मान गर्दै यसका विशेषतालाई आत्मसात् गर्नुपर्छ।
तीज भन्ने बित्तिकै सबैभन्दा पहिले चेलीबेटी र माइतीघरको छवि हाम्रो दिमागमा आउँछ। रातो सारी लगाएर शिवालयमा नाचिरहेकी महिलाको आकृति मानसपटलमा घुम्छ। श्रीमानको सुस्वास्थ्य र दीर्घायुका साथै परिवारको सुख–शान्तिका लागि भगवान् शिवको व्रत बस्ने आम महिलाको चित्र आँखामा आउँछ।
तर पछिल्लो समय तीजलाई लिएर हाम्रो सोचाइमा धेरै भिन्नता भेटिएको छ। माइतीघरमा दिदीबहिनी जम्मा भएर नाचगान गर्नेसम्म त ठीकै थियो। तर पछिल्लो समय दरको नाममा पैसा उठाएर महिनौं अघिदेखि रेस्टुरेन्ट र पार्टी प्यालेसमा खाने र खुवाउने प्रवृत्ति हावी भइरहेको छ।
तीज गीतको नाममा उच्छृङ्खल शब्द र गतिविधिहरूलाई स्थान दिएर सामाजिक मूल्यमान्यताको खिल्ली उडाउने काम बढेको देखिन्छ। शब्द तथा दृश्यमा छाडापन भित्र्याई तीजका गीतले समाजमा विकृति बढाउने काम गरेको छ।
नियमन गर्ने निकायको अभावमा गीत–संगीतले तीजको गरिमामा आँच पुर्याउँदा पनि टुलुटुलु हेर्नुपर्ने अवस्था छ। आधुनिकताको नाममा आजभोलिका गीतहरूले तीजको मर्म बोक्नेभन्दा पनि तीजको महिमामाथि प्रहार गर्ने काम गरेको देखिन्छ। रक्सीको मातमा उफ्रिने र त्यसलाई दरको नाम दिने प्रवृत्तिले गर्दा तीजलाई लिएर पछिल्लो पुस्तामा नकारात्मक सोचाइ बढ्दै गएको छ।
जीवन हाम्रो हो। नारी स्वतन्त्रताको उपयोग गर्दा किन टाउकोदुखाइ भन्नुहुन्छ भने पनि ठीकै छ। आफ्नो जीवन आफ्नो इच्छाअनुसार जिउन सबै स्वतन्त्र छन्। डिस्को बारमा जानुस्, तपाईं महिनौं नाचगान गर्नुस्, बियर खानुस्, हुक्का तान्नुस्, त्यसमा मेरो आपत्ति छैन। बस् मेरो भन्नु यत्ति हो, यस्ता क्रियाकलापलाई दर शब्दसँग नजोडियोस्। यी क्रियाकलापहरूलाई तीज र दर जस्तो आफैंमा पवित्र शब्दसँग जोडिनु गलत हो।
यो हाम्रो धर्म, धार्मिक आस्था, मूल्य, मान्यतामाथिको प्रहार हो। किनकि तीज एउटा शब्द मात्रै नभएर हाम्रो धरोहर पनि हो। यसले हामी हिन्दु नारीहरूको अस्तित्व बोकेको छ। हिन्दु धर्म संस्कृतिमाथिको धावा यो स्वीकार्य कुरा हुँदै होइन।
विगत केही वर्षयता तीज आउनु महिनौं अघिदेखि बाटोघाटो, चोक, गल्लीहरूमा रातो, हरियो पहिरनमा सजिएर तीज कार्यक्रममा हिंड्ने महिलाहरूको बाक्लो उपस्थिति देखिन्छ। भदौ महिनाको सुरुबाटै सामाजिक सञ्जालका भित्ताहरू तीजमय बनिसकेका हुन्छन्।
रेडियो, टेलिभिजनका साथसाथै सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा पनि तीजका भाकाहरू घन्किन थाल्छन्। साउनबाटै रेस्टुरेन्ट र पार्टी प्यालेसहरू दर कार्यक्रमका लागि बुक हुन्छन्। पार्टी प्यालेसका हलहरूमा महिनौं भोजभतेर चल्छ।
गोजीमा दाम भएको अवस्थामा त दिदीबहिनी, साथीभाइ भेला हुने, खाने, रमाइलो गर्ने कुराहरूलाई सामान्य रूपमा नै लिन सकिन्छ। तर अरुसँग सापट गरेर वा आधारभूत आवश्यकता पूर्तिका लागि राखेको पैसा त्यो आवश्यकतालाई पन्छाएर यस्ता कुरामा खर्च गर्दा झन् आर्थिक भार थपिन जान्छ।
घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भनाइलाई नै बेवास्ता गरी हामीले आफ्नै टाउकोमा भार बढाइरहेका छौं। अरुको लहलहैमा लागेर ॠण काढेरै भए पनि खानुपर्छ, खुवाउनुपर्छ भन्ने सोचले हामीले नै तीजलाई अझै खर्चिलो र भड्किलो बनाइरहेका छौं।
अचम्मको कुरा त यो छ कि तीजमा अनावश्यक खर्च गर्ने, ॠण गरेरै भए पनि महिनौं अघिदेखि दर खुवाउने कामलाई पढेलेखेका भनिने जमातले नै बढावा दिइरहेका छन्। फलानोले त दिदीबहिनी, साथीभाइ बोलाएर दर खुवायो, हामीले नखुवाउँदा हामी कमजोर देखिने हौं कि भन्ने डरले गर्दा हामीले यस्ता विकृतिलाई अझ प्रोत्साहन गरिरहेका छौं। छरछिमेकको देखासिकीमा लागि अनावश्यक तामझाम गर्दा पछिल्लो समय तीज अझै बढी खर्चिलो बन्दै गएको छ।
विगतको तीज हाम्रो संस्कृति जगेर्ना गर्ने दरिलो आधार थियो। तीजको अवसरमा माइतीघर आएका छोरीचेलीहरूले आफूभित्र भएका पीडाहरूलाई गीतको माध्यमबाट बाहिर निकाल्थे। तर वर्तमान अवस्थामा तीजको कायापलट भएको छ भन्दा फरक नपर्ला। मादल, खैंजडी बजाएर आफ्नो दुःखसुख साट्दै माइतीको आँगनमा नाच्ने, गाउने, रमाउने चलन स्पिकरमा गीत बजाएर उफ्रिने दिनसम्म आइपुगेको छ।
परम्परागत लोक भाकालाई बिर्सिएर डिस्को डान्स गर्नेसम्मका कुराहरूसम्म त जसोतसो पचाइएकै थियो। तर आजभोलि तीज महँगा लुगा र गहना प्रदर्शनको केन्द्र बनिरहेको छ। आर्थिक दम्भ प्रदर्शनलाई तीजको नाममा बढावा दिइएको छ। पछिल्लो समय तीजका धार्मिक, सांस्कृतिक मूल्यमान्यताहरू ओझेलमा पर्दै गएका छन्, जसले गर्दा तीज हाम्रो धार्मिक आस्थाको केन्द्रभन्दा पनि मनोरञ्जनको साधन बन्दै गएको देखिन्छ। पछिल्ला केही वर्षयताका गतिविधिलाई नियाल्दा तीजको मौलिकता लोप हुँदै गएको आभास हुन्छ।
त्यसको अर्थ तीजमा विकृति मात्रै बढेको छ, तीजमा सकारात्मकता छैन भन्नेचाहिं होइन। किनकि पछिल्लो समय तीजका केही सकारात्मक पाटा पनि अगाडि आएका छन्। विगतमा तीजको व्रत महिलाले मात्रै बस्दथे। अहिले पुरुषहरूले पनि व्रत बस्ने गरेका छन्। आहार शुद्धी, वस्त्र शुद्धी, शारीरिक तथा मानसिक शुद्धीका लागि पुरुषहरू पनि तीजको दिनमा व्रत बस्दै आइरहेका छन्।
राम्रो श्रीमान पाइन्छ वा श्रीमानको लामो आयु हुन्छ भनेर भन्दा पनि व्रतको प्रभावले सकारात्मक ऊर्जा प्राप्त हुन्छ भन्ने विश्वासका साथ तीजको व्रत बस्ने प्रचलन बढेको छ। यी तीजको एकदम सकारात्मक पाटा हुन्। केही विकृत मानसिकताले गर्दा यस्ता सकारात्मक पाटाहरू ओझेलमा पर्नु दुःखद पक्ष हो।
तीजमा श्रीमानको गोडा धोएर पानी खाने विषयलाई लिएर पक्ष–विपक्षमा आफ्नो मत राख्नेहरू पनि धेरै छन्। वर्षैपिच्छे यो विषयले सामाजिक सञ्जाल र अन्य फोरम तताउने गरेको छ। महिला अधिकारकर्मीहरू पनि यसको विरोधमा बोलिरहेका हुन्छन्। तर यी मुद्दाहरू तीजको आसपासमा मात्रै उठ्छन् र पछि त्यसै सेलाउँछन्। तीजसँग सम्बन्धित चित्त नबुझ्दा सामाजिक तथा सांस्कृतिक मान्यताहरूलाई समयसापेक्ष रूपमा परिवर्तन एवम् परिमार्जन गरी अगाडि बढाउन सकिन्छ। यसमा कसैलाई पनि बाध्यता छैन।
जहाँसम्म मेरो बुझाइ छ, श्रीमानको खुट्टा धोएर पानी पिउने काम हाम्रो आमा पुस्ताका महिलाहरूले धेरै गर्नुहुन्छ। यो उहाँहरूको आस्था र विश्वासको कुरा हो। अरुले आस्थाले वर्षौंवर्षदेखि अपनाउँदै आइरहेको कुरालाई हामीले टीकाटिप्पणी गरिरहनु आवश्यक छैन। हामीलाई मन नपरेको अवस्थामा त्यसलाई आफ्ना लागि परिमार्जन गर्न सक्छौं।
संस्कृति, परम्पराहरू भनेका हाम्रा धरोहर हुन्। त्यसैले तीज पर्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दा यसको मौलिकपनले निरन्तरता पाओस् भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। टेलिभिजनमा तीज गीत भनेर देखाइने भिडियोहरूले नग्नता र छाडापनलाई बढावा दिइरहेको अवस्थामा हामीले त्यसलाई बहिष्कार गर्न सक्नुपर्छ। तडकभडकमा रुमल्लिएको तीजलाई देखेर भोलिको पुस्ताले यसलाई अपव्याख्या नगरोस् भन्नेमा हामी सजग रहनुपर्ने देखिन्छ।
अहिले हामीले खर्चिलो आडम्बरीपन अँगाल्दा आगामी पुस्तालाई मानसिक भार बढ्न सक्छ भन्नेतर्फ पनि सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ। धेरै तडकभडकमा लाग्दा कालान्तरमामा हाम्रा मौलिक परम्परा लोप हुनसक्ने खतरालाई मध्यनजर गर्दै यसको अस्तित्व रक्षार्थ राज्यका तर्फबाट नै ठोस पहल हुनुपर्ने देखिन्छ। त्यसैले तीजसँग जोडिएका केही कमजोर पाटाहरूलाई त्यागी आगामी पिंढीलाई यसको संरक्षणको जिम्मा दिनुपर्छ।
नेपालमा मात्रै नभएर संसारका हरेक कुना जहाँ नेपालीहरूको बसोबास छ, त्यहाँ तीज मनाइन्छ। त्यसैले जुन देशमा तीज मनाइन्छ, त्यो देशका नागरिकले तीजलाई नेपाली पर्वको रूपमा चिन्छन्, बुझ्छन्। प्रत्यक्ष–अप्रत्यक्ष रूपमा तीजले नेपालीहरू बीचमा मात्रै नभएर विदेशी समुदायमा पनि हाम्रो समाजको प्रतिनिधित्व गरिरहेको हुन्छ।
त्यसैले तीजलाई अझै सभ्य रूपमा मनाउन आवश्यक हुन्छ। ताकि यसले हाम्रो धार्मिक परम्पराको बारेमा विश्व समुदायमा गलत सन्देश प्रवाह नगरोस्। हिन्दु दर्शन र हिन्दु सभ्यताको रक्षाको लागि पनि तीजलाई मौलिक रूपमा नै ग्रहण गर्नुपर्ने देखिन्छ। ताकि यसको वास्तविक मिठास ओझेलमा नपरोस्। हाम्रा छोरी, नातिनीको पुस्ताले पनि तीजको त्यही स्वाद चाख्न पाउन्, जुन स्वाद हाम्रा आमा, हजुरआमाहरूले पाउनुहुन्थ्यो।
जसरी अन्नबालीमा विषादी छरेपछि त्यसको पुरानो स्वाद गुम्दै जान्छ, हाम्रा धार्मिक, सांस्कृतिक पर्वहरूमा पनि बाहिरी तत्व हावी हुँदा त्यसको वास्तविक स्वाद हराउँदै जान्छ। जसले हामी स्वयंलाई भित्रभित्रै कमजोर बनाउँदै गएर कालान्तरमा रोगी बनाउँछ। संस्कार, संस्कृति विनाको मान्छे पुच्छर विनाको बाँदर जस्तो हुन्छ भन्ने त भनाइ नै छ।
तीज एउटा पर्व मात्रै नभएर हाम्रो पहिचान पनि हो। त्यसैले यसको जगेर्नामा सबैको ध्यान जान आवश्यक छ। तीजमा अनावश्यक खर्च गरेर आर्थिक भार थप्नुको साटो आफ्नो गच्छे अनुसारको खर्च गरौं र खुसी रहौं। तीजलाई एकआपसमा माया, सद्भाव बाँड्ने, खुसी साट्ने, आपसी अपनत्व र समझदारी बढाउने माध्यमको रूपमा मनाऔं।
तीजको सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूमा एकमुष्ट शुभकामना !
प्रतिक्रिया 4