
१४ भदौ, काठमाडौं । हरितालिका तीजका व्रत बस्ने दिन मंगलबार पशुपतिनाथ मन्दिरमा विगत जस्तो लाइनमा भिड छैन । विगतमा पशुपति दर्शनका लागि भक्तजनले घन्टौं लाइन बस्नुपर्थ्यो ।
तर यसपालि विगतको तुलनामा भिड कम देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘विगतमा पौने ७ बजेतिर गौशाला, बोलबल, पिंगलास्थान तिनैतिर लामो लाइन हुन्थ्यो, अहिले त्यस्तो देखिएन ।’
गौशालाबाट चाबहिल जाने सडकसम्म भिडभाड देखिन्थ्यो, तर यसपालि त्यो पनि नदेखिएको उनले बताए । प्रहरीले चाहिँ विगतको संख्यालाई आधार बनाएर सुरक्षा व्यवस्था कडा पारेको थियो ।
एसपी मैनालीका अनुसार पशुपतिमा सुरक्षा व्यवस्थापनका लागि एक हजार महिला र १४ सय पुरुष प्रहरी खटाइएको थियो । भिडभाडमा चोरी, लुटपाट, झगडा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।
‘कडन, पिकेट, रिजर्भ, स्ट्राइकिङ, डिजास्टर रेस्क्यू टिम, मेडिकल सहयोगका लागि एम्बुलेन्स लगायतका टोली परिचालन गरेका छौं’ मैनाली भन्छन्, ‘कुन २४ सय प्रहरी परिचालन गरेका छौं ।’
प्रतिक्रिया 4