
काठमाडौं । हलमा प्रदर्शन रोक्ने निर्णयसँगै फिल्म ‘राधा’ अब ओटीटी र डायस्पोरा रिलिजमा केन्द्रित हुने भएको छ । प्रदर्शन स्थगित गर्ने निर्णयबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता र कलाकार सहभागी थिए ।
निर्माता तथा अभिनेता सौगात मल्लले अब ओटीटी र विदेश प्रदर्शनलाई प्राथमिकतामा राखिएको बताए । फिल्म लिएर सौगात र अभिनेत्री सृष्टि श्रेष्ठ बेलायत प्रस्थान गर्ने तयारीमा छन् ।
अघिपछि शान्त स्वभावकी देखिने सृष्टि पत्रकार सम्मेलनमा केही क्रुद्ध देखिइन् । आफूहरु कसैको विरोध प्रदर्शनमा नउत्रिएको भन्दै उनले प्रदर्शनको नयाँ माध्यमको खोजीमा अघि बढेको बताइन् ।
‘हाम्रो यो विरोध कसैप्रति लक्षित छैन । यो मिडियमले काम नचलेपछि हामी नयाँ मिडियममा अघि बढ्न खोजेका हौं । ओटीटी हुन्छ या विदेश हामी अघि बढ्छौं,’ उनले भनिन् ।
‘प्रकाश’को प्रिमियरमा आफू सहभागी भएको र अभिनय मन परेकाले प्रदीपलाई मेसेज गरेर बधाई दिएको कुरा पनि सृष्टिले सेयर गरिन् । ‘हामी एउटै परिवार हौं । यो त्यो भन्ने कुरा भएन । सबैको हितको लागि हामी डटेका हौं,’ उनले भनिन् ।
पत्रकार सम्मेलनमा सौगात खासै बोलेनन् । निर्देशक सुवर्ण थापाले अहिलेको वितरण र प्रदर्शन प्रक्रियाप्रति आफूहरु असन्तुष्ट रहेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णयअनुसार प्रदर्शन रोकिएको बताए ।
‘राधा’को हल शोमा उच्च गिरावट आएको छ । तीजको दिन मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको काठमाडौंका हलमा अपरान्ह ३ बजे नै राधाका शो छैनन् । पत्रकार सम्मेलनमा सहभागी निर्माता विक्रम जोशीले पनि अब विदेश प्रदर्शनको तयारीमा आफूहरु जुट्ने बताए ।
प्रतिक्रिया 4