
काठमाडौं । नेपाली बक्स अफिसमा यतिबेला दुई चित्र देखिएका छन् । पहिलो, फिल्म ‘प्रकाश’को शोमा वृद्धि भइरहेको छ । दोस्रो, शोमा अन्याय भएको भन्दै ‘राधा’ले प्रदर्शन नै रोकेको स्थिति छ ।
‘प्रकाश’को शो वृद्धि हुनुमा केही तत्व जिम्मेवारी छन्, आक्रामक बजारीकरणको रणनीति, वर्ड अफ माउथ र पब्लिसिटी स्टन्ट । ‘राधा’ यति चाँडै हलबाट बाहिरिनुमा मुख्य कारण कमजोर प्रचार रणनीति हो ।
फिल्मको प्रदर्शन रोक्ने निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुवर्ण थापाले शो बाँडफाँटमा अन्याय र विभेद मुख्य कारण रहेको बताए । दर्शक अनुकूल शो बाँडफाँट नगरिएकोतर्फ पनि उनले संकेत गरे । तर ‘राधा’को मुख्य चुनौती यसको फितलो ‘पब्लिसिटी’ नै रह्यो ।
अर्कोतर्फ, मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘प्रकाश’को शोमा वृद्धि गरेर बुधबार ३१ शो पुर्याएको छ । शुक्रबार १३ शो पाएको फिल्मले शोमा वृद्धि गरे पनि अकुपेन्सीको अनुपात भने बढेको छैन । यद्यपि, निर्माता महेन्द्र अधिकारी अकुपेन्सी पनि बढ्ने बताउँछन् ।
बुधबार बिहान पनि प्रमुख मल्टिप्लेक्समा ‘प्रकाश’को बिहानी अकुपेन्सी २० प्रतिशत छ, जुन सकारात्मक पक्ष हो । तीजको दिनमा राम्रो कमाइ गरेको फिल्मले आगामी दिनमा आफूलाई कसरी अघि बढाउँछ, यो कुरा वर्ड अफ माउथमा निर्भर हुनेछ ।
अर्को अर्थमा ‘प्रकाश’ भाग्यमानी पनि रह्यो किनभने प्रतीक्षित बलिउड फिल्म ‘लाइगर’ सुस्ताउँदाको फाइदा यसलाई पुग्यो । ‘लाइगर’लाई दिइएका शो यतिबेला ‘प्रकाश’तर्फ मोडिएको छ ।
अर्कोतर्फ, सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णयको फाइदा पनि ‘प्रकाश’लाई पुग्न सक्छ । ‘प्रकाश’ले यतिबेला राजनीतिक वृत्तमा प्रचारप्रसारलाई तीव्र तुल्याएको देखिन्छ । कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले फिल्म हेरेर रुचाएका छन् ।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फिल्म हेर्ने कार्यक्रम छ । अर्थमन्त्री जनार्दन शर्माले पनि उपयुक्त समयमा फिल्म हेर्ने बताएका छन् ।
‘प्रकाश’को लागि बिहीबारसम्म उपयुक्त समय छ । शुक्रबारदेखि स्पाइडरम्यान, सम्हालिन्छ कहिले मन र झिंगेदाउ रिलिज हुँदैछन्, जसले गर्दा बक्स अफिस प्रतिस्पर्धा पेचिलो बन्न सक्छ । वर्ड अफ माउथ अझै बलियो भए ‘प्रकाश’का लागि दोस्रो सप्ताहन्त पनि सुखद् हुन सक्छ ।
प्रतिक्रिया 4