
१५ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र अवैध संरचना हटाउन कार्यदल गठन गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले उपमहानगर भित्र रहेका अतिक्रमित संरचना हटाउन र फोहोर व्यवस्थापन गर्न कार्यदल गठन गरेको उपमहानगरले जनाएको छ ।
सबै वडामा नियम विपरीत निर्माण भएका संरचनाको मूल्यांकन र अनुगमनका लागि हेटौंडा-१० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा ‘अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल’ गठन गरेको हो । बैठकले ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने निर्णय समेत गरेको छ ।
कार्यदलले हेटौंडा बजार क्षेत्रमा रहेको अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । नगरक्षेत्रमा नक्सा पास नभई बनेका साना ठूला टहराहरु स्वःस्फुर्त हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलले काम सुरु गर्ने बताइएको छ ।
कार्यपालिका बैठकले उपमेयर राजेश बानियाँको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । फोहोरको व्यवस्थापन गर्न कार्यदलले उपमहानगका क्षेत्रबाट उत्पादन भएका फोहोरलाई एकै ठाउँ डम्पिङ गर्ने भन्दा पनि फरक/फरक ठाउँहरुमा फोहर व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने संयोजक बानियाँले जानकारी दिए ।
पुरानै शैलीबाट फोहर व्यवथापनमा असहज अवस्था आएकाले नगर क्षेत्रका वडाहरुमा पनि डम्पिङ साइडको व्यवस्थापन गर्न कार्यलदलले काम गर्ने उनले बताए । सबै क्षेत्रबाट उपमहानगरले निर्धारण गरेको डम्पिङ साइटसम्म फोहोर ल्याउँदा व्यवस्थापनमा कठिन देखिएकोले सम्बन्धित वडाको फोहोर सोही वडामा नै व्यवस्थापनका गर्न कार्यदल गठन गरिएको मेयर लामाले बताइन् ।
तरकारी बजार सार्ने निर्णय
हेटौंडा–१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा-१ मा सारिने भएको छ ।
बसपार्क क्षेत्रमा निर्माण भइरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले हेटौंडा-१ स्थित राप्ती करीडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको मेयर लामाले जानकारी दिइन् ।
तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने उनले बताइन् ।
प्रतिक्रिया 4