+
+

दशैं सहुलियत पसल : खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १९:०५
फाइल तस्वीर

१५ भदौ, कठामाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यो वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए ।

यस्तो छुट दाल, चामल, गेडागुडी, कम्पनीले खरिद गर्ने खसी, बोका र च्यांग्रामा पनि पाइने छ । सहुलियत पसल सञ्चालन मिति, उपभोक्तालाई दिइने छुट र खसी तथा च्यांग्राको प्रबन्धबारे मन्त्रालयलाई पत्राचार गरिएको खनालले बताए ।

‘खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट, सहुलियत सञ्चालनको मिति यकिनबारे मन्त्रालयमा प्रस्ताव गरेका छौं,’ खनालले भने, ‘केही दिनमा मन्त्रालयले निर्णय गर्छ ।’

गत वर्ष खसी र च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट दिइएको थियो । यस्तै चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको थियो भने तोरी र सनफ्लावरको तेलमा प्रतिलिटरमा ५ रुपैयाँ र भटमासको तेलमा लिटरमा १० रुपैयाँ छुट दिइएको थियो ।

यस वर्ष जसरी पनि च्यांग्रा ल्याउन पहल भइरहेको पनि उनले बताए । एक हजार च्यांग्रा ल्याउनका लागि एक जना सहायक स्तरका कर्मचारी र मुस्ताङका कार्यालय प्रमुख खटिएको उनले खनालले बताए । यो वर्ष खाद्यले २ हजार खसी–बोका र एक हजार च्यांग्रा खरिदका लागि ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।

यो वर्ष पनि साविककै जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल सञ्चालन गर्ने छ । अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्लामा सञ्चालनमा आउने छ ।

यस्तै साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्दा बेग्लै रुपमा देशभर सहुलियत पसल सञचालन गर्ने छ । गत वर्ष उपत्यकासहित देशभर ३८ वटा स्थानमा साल्टले सहुलियत पसल सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?