
१५ भदौ, चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दर्ता गराएका छन् ।
मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा वुधबार दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।
राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए ।
दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् । क्षेत्र नं. २ आफ्नो लागि अनुकुल हुन नसक्ने बुझेका राज्यमन्त्री श्रेष्ठले क्षेत्र नं. १ मा आवेदन दर्ता गराउन पुगेका थिए ।
जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक ब्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन एक सर्कुलर जारी गरेका थिए । तर, श्रेष्ठले यो विधान विपरीत भएको भन्दै चितवन-२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराएका छन् ।
जिल्ला पार्टी सभापति खनालले अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले दुई मध्ये एक ठाउँमात्रै रोज्नुपर्ने र एकठाँउ छाड्नुपर्ने बताए । श्रेष्ठलाई जिल्ला पार्टी कार्यालयले नाम सिफारिस गरेर माथिल्लो निकायमा पठाउनुअघि चितवन क्षेत्र नं.१ वा २ मध्ये कुन रोज्ने भनेर सोधेर मात्रै माथि नाम पठाउने बताए ।
केन्द्रले प्रत्यक्षमा ३ जनाको मात्रै नाम पठाउन भनेको छ । धेरै आकांक्षी भएकोले मतदानमार्फत टुंगो लगाउने चर्चा क्षेत्र नं. २ मा चलेको छ ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनाल क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारको दावेदार हुन् । उनले बुधबार दिउँसो उम्मेदवारी दर्ता गराए । यस्तै प्रत्यक्षतर्फ निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी,राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकारले पनि आवेदन दर्ता गराएका छन् ।
प्रतिक्रिया 4