
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहकायक कम्पनीको शुभारम्भ गरेको छ ।
कम्पनीले मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ लिमिटेड गरी ८ वटा सहायक कम्पनीहरुको सुरुवात गरेको जनाएको छ ।
देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको थियो । स्थापनादेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समूह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका दाबी कम्पनीले गरेको छ ।
हालसम्म कम्पनीले ६२ वटा जिल्लामा विभिन्न व्यावसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको जनाएको छ । जसका लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेका उल्लेख गरेको छ ।
कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने जनाएको छ । हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रका लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउने दाबी कम्पनीको छ ।
प्रतिक्रिया 4