
१५ भदौ, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् ।
४ मंसिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले वताए । ‘स्थानीय तहको निर्वाचनबाट जनताले डोटीमा कांग्रेसले नेतृत्व पाउन पर्छ प्रष्ट सन्देश दिएको छ’ नेता बलायरले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिटमा कांग्रेसले उम्मेदवारी दिन्छ ।’
उनले कांग्रेस नेता कार्यकर्ताहरु चुनावी तालमेलको बिरुद्धमा रहेको वताए । उनले भने ‘जिल्लामा हामीलाई चुनावी तालमेल गर्नु जरुरी छैन, यदि केन्द्रले जवरजस्ती लाग्न खोज्छ भने त्यो दुर्भाग्य हुन्छ ।’
कांग्रेस एक्लैले सजिलैसँग चुनाव लड्न सक्ने जिल्लामा अरुलाई नेतृत्व दिनु कार्यकर्ता र जनताप्रति अन्याय हुने बलायर वताउँछन् ।
उनले आधारहरु तय नगरि गरिने गठबन्धनको औचित्य नभएको समेत वताए । ‘गठबन्धनले जनतालाई विश्वास दिलाउन सक्नु पर्छ, देशको सही नेतृत्व गर्न सक्नु पर्छ, महंगीको मारमा परेका जनतालाई राज्यले सहुलियत दिनु पर्छ’, नेता बलायरले भने, ‘चुनाव जित्नका लागि मात्रै गठबन्धन गर्नुको कुनै अर्थ छैन ।’
गठबन्धनका अन्य दलले धम्क्याएर, थर्काएर डोटीको नेतृत्व लिने प्रयास गरिरहेको बलायरले आरोप लगाए । उनले भने ‘व्ल्याक मेलिङ्ग गरेर गठबन्धन हुँदैन, कुनै व्यक्ति विशेषका कारण चुनावी तालमेल गर्नु पर्ने जरुरी छैन ।’
नेता बलायरले सुदूरपश्चिम प्रदेश सरकार निर्लज्ज बनेको आरोप पनि लगाए । पाँच वर्षको अवधीमा प्रदेश सरकारले कुनै एउटा पनि नमूना काम गर्न नसकेको उनको दावब छ । ‘प्रदेश र संघमा गरि एकै पटकमा डोटीका ४ जना मन्त्री समेत बने डोटीको इतिहास बन्यो तर उपलब्धी केही हुन सकेन्’ बलायरले भने ‘प्रदेश सरकार आफ्ना कार्यकर्ता पाल्न र राज्यको सम्पत्ति दुरुपयोग गर्नमा मात्र सिमित छ ।’
प्रतिक्रिया 4