
१५ भदौ, काठमाडौं । नेपाल र अष्ट्रेलियाको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक अष्ट्रेलियामा सम्पन्न भएको छ ।
अष्ट्रेलियाको क्यानबेरामा बसेको संयन्त्रको दोस्रो बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सविच भरतराज पौडेल र अस्ट्रेलियन टोलीको नेतृत्वको त्यहाँको विदेश विभागका सहसचिव जस्टिन हेयर्स्टले गरेका थिए ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संयन्त्रको बैठकमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । ‘दुवै पक्षले शिक्षा, उर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि तथा सञ्चार, आप्रवासन, पर्यावरण, विपद न्यूनिकरणलगायत क्षेत्रमा नेपाल र अस्ट्रेलीयाबीचको द्विपक्षीय सम्बन्भ र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भयो,’ क्यानबेरास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा दुवैतर्फबाट उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने, नागरिकस्तरको सम्बन्धलाई विस्तार गर्ने, व्यापार प्रवद्र्धन गर्ने तथा संयुक्त राष्ट्र संघमा शान्ति स्थपना गर्दाको अनुभवलाई आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको छ ।
त्यस्तै परराष्ट्र सचिव पाण्डे नेतृत्वको नेपाली टोलीले अष्ट्रेलियाले नेपाललाई पुर्याउँदै आएको सहयोगको प्रशसां गर्दै अष्ट्रेलियन एडको प्राथमिकतामा नेपाललाई राख्न र सहयोग बढाउन अनुरोध गरेको छ । कोभिड महामारीपछिको आर्थिक अवस्था सुधारका लागि थप सहयोग गर्न, दिगो विकासको लक्ष्य हासिल गर्न तथा नेपाली नागरिकका लागि काठमाडौंस्थित अष्ट्रेलियन राजदूतावासबाटै भिजा उपलब्ध गराउन समेत नेपालले आग्रह गरेको छ ।
बैठकमा अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित सन् २०१७ मा सचिवस्तरीय संयन्त्रको स्थापना भए पनि एकपटक मात्रै बैठक बसेको थियो । पहिलो बैठक सन् २०१८ मा काठमाडौंमा बसेपछि त्यसको दुई वर्षपछि पुनः बस्ने भनिएको थियो । तर, कोरोना महामारीलगायत कारण दुई वर्ष ढिलो गरी मात्रै संयन्त्रको दोस्रो बैठक बसेको हो ।
प्रतिक्रिया 4