+
+
ब्लग :

हवाई उड्डयनको इतिहासः विश्वदेखि नेपालसम्म

एपी अर्याल एपी अर्याल
२०७९ भदौ १५ गते १८:३६

विज्ञानको व्यवहारिक प्रयोगलाई प्रविधि भनिन्छ । अर्थात् वैज्ञानिक ज्ञानलाई उत्पादनशील कार्यमा प्रयोग गर्नु नै प्रविधि हो । प्रविधिको उचित सदुपयोग नै वर्तमान अवस्थालाई सहज र सरल बनाउने माध्यम बनेको छ । वैज्ञानिक प्रविधिको प्रयोग, गहन खोज, अनुसन्धान एवं आविष्कारले गर्दा आज मानिसहरू अत्याधुनिक रकेटको यात्रामार्फत अन्तरिक्ष एवं ग्रह–उपग्रहसम्मको यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएका छन् ।

वर्तमान अवस्थामा हवाई उड्डयन क्षेत्रमा भएका अत्याधुनिक प्रविधिको विकासले गर्दा समग्र ब्रह्माण्ड नै एउटा गोलघरमा सीमित भएको छ । जसको पछाडि सयौं वैज्ञानिक एवं प्राविधिकको अथक् परिश्रम एवं योगदान रहेको छ । जसलाई नजरअन्दाज गर्दै उनीहरूप्रति सम्मान व्यक्त गर्न नसक्नु हाम्रो मुख्र्याइँ बाहेक केही हुन सक्दैन । तसर्थ सम्पूर्ण अग्रजहरूप्रति म यही लेखमार्फत हार्दिक नमन गर्न चाहन्छु ।

हवाई उड्डयनमा सबैभन्दा बढी प्रयोगमा आउने शब्द एभिएशन ल्याटिन भाषा एभिजबाट आएको हो । जसको अर्थ बर्ड अर्थात् चरा भन्ने हुन्छ । जुन शब्द फ्रेञ्च भाषामा एभिएरिज हुँदै अंग्रेजी भाषामा अपभ्रंश हुँदै एभिएशन बन्न पुग्यो ।

सामान्य अर्थमा हवाईजहाज बनाउने र उडाउने कलालाई उड्डयन अर्थात् एभिएशन भनिन्छ भने हावाको बहावमा नियन्त्रित भएर शून्य आकाशमा उड्न सक्ने एक वैज्ञानिक यन्त्र जसले मानव एवं मालसामानको ढुवानी गर्छ त्यसलाई वायुयान अर्थात् हवाईजहाज भनिन्छ ।

हवाई उड्डयनको इतिहास सुरु गर्नुभन्दा पहिला हामीहरूले हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक ग्रन्थ रामायणको कथा स्मरण गर्नुपर्ने हुन्छ । जसमा रावणले देवी सीतालाई हरण गरेर पुष्पक विमानमा राखेर लंकातर्फ लग्यो भनिएको छ ।

अहिलेको भारतको नक्साङ्कन हेर्दा पनि सीता बसेको ठाउँ पञ्चावटीदेखि लंकासम्मको बाटो सामुद्रिक मार्गमा पर्दछ । तर रामसँग विमान नभएको हुँदा तत्कालीन समयका वैज्ञानिक बाँदरहरू नल र नीलको सहयोगमा समुद्रमा राम सेतु पुल बनाएर सीताको उद्धार गरे भनिन्छ । जसको प्रमाण आजका दिनसम्म पनि देख्न सकिन्छ । रामेश्वरधाममा रहेको आदम ब्रिज नामकरण गरिएको उक्त पुललाई वैज्ञानिकहरूले आजभन्दा करिब ७ हजार वर्ष पहिला निर्माण गरिएको भन्ने गर्छन् ।

पुष्पक विमानको बारेमा एउटा पौराणिक मिथक पनि रहेको छ । जसमा भनिएको छ– पुष्पक विमान यस ब्रह्माण्ड एवं देवी–देवताका इन्जिनियर भनेर चिनिने बाबा विश्वकर्माले भगवान ब्रह्माका लागि बनाएका थिए ।

पछि ब्रह्माले उक्त विमान धनका देवता कुवेरलाई दिए । पछि त्यो विमान कुवेरको सौतेनी भाइ रावणले चोरी गरी प्रयोग गर्‍यो भनिन्छ । तसर्थ तत्कालीन समयमा नै रावणसँग पुष्पक विमान थियो भनेर बुझ्न सकिन्छ ।

हिन्दु एवं पाश्चात्य धार्मिक ग्रन्थहरूमा उड्ने वायुपंखी घोडा, सुनका विमान, पुष्पक विमान एवं हावा भरेर बेलुनमा उड्ने वायुयानहरूको चर्चा भएतापनि ग्रन्थहरूमा उल्लिखित विमानहरू कसरी उड्छन् भन्ने बारेमा हजारौं वर्षपछि मात्र मानिसहरूलाई थाहा भएको थियो ।

इन्टरनेशनल एभिएशन जर्नलमा प्रकाशित लेख अनुसार इसापूर्व ४२८ मा प्राचीन ग्रीसका वैज्ञानिक आर्केटसले चरा आकारको विमान बनाएका थिए । जुन २०० मिटरसम्म उड्यो भनिन्छ । तर यसको ठोस प्रमाण भने भेटिएन ।

आजभन्दा करिब ७०० वर्ष अगाडि इटलीका महान कलाकार, दार्शनिक एवं वैज्ञानिक लिओनार्दो दा भिन्चीले हवाई उड्डयन सम्बन्धी लेखेको तथ्य विमान स्थिर रहन यसको पुच्छरको भाग हुनुपर्ने एवं परम्परागत रूपमा इनारबाट पानी तानिने मेसिनको प्राविधिक विकास गरेर वायुयान बनाउन सकिन्छ भन्ने भनाइलाई हवाई उड्डयनको क्षेत्रमा एक महत्वपूर्ण अवधारणाको रूपमा लिने गरिन्छ ।

त्यस्तै फ्रान्सका वैज्ञानिक रोजर वाकोनले आजभन्दा करिब ८०० वर्षभन्दा पहिला हावालाई पानीसँग तुलना गर्दै पानीमा पानीजहाज तैरिएझैं आकाशमा रहेको हावाको घनत्व बाहिरी हावाको घनत्व भन्दा कम भएमा वायुयान उड्न सक्छ भनेर व्याख्या गरेका थिए । जुन तथ्य उनले आफ्नो पुस्तक ‘अन द मारभेलुअस पावर अफ आर्ट एण्ड नेचर’ मा उल्लेख गरेका छन् । तसर्थ हवाई उड्डयनको इतिहासमा उनको भनाइलाई पनि एक महत्वपूर्ण तथ्यको रूपमा लिने गरिन्छ ।

त्यस्तै वायुयान निर्माण एवं हवाई उड्डयन क्षेत्रको विकासको सम्बन्धमा सन् १९७० मा ब्रिटेनमा जन्मेका जर्ज केलीको भनाइलाई पनि महत्वपूर्ण मानिन्छ । उनले आप्mनो जीवनको अधिकांश समय खर्चेर वायुयानका समानान्तर शक्तिहरू भार, उत्तोलन, उपकर्षण र अग्राहणको बारेमा व्याख्या गरेका थिए ।

तसर्थ उनले गरेको खोज एवं अनुसन्धानलाई सम्मान गर्दै उनलाई हवाई उड्डयनका पिताको रूपमा सम्मान गर्ने गरिन्छ । उनले अनुसन्धान गरेका वायुयानका समानान्तर शक्तिहरूको विश्लेषण नै हवाई उड्डयन इतिहासको एक कोसेढुंगा सावित हुनपुग्यो ।

सरकारले यस क्षेत्रका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नु नै समग्र वायुसेवा कम्पनीहरू दीर्घकालसम्म जीवित रहिरहने एउटा माध्यम बन्न सक्छ ।

हवाई उड्डयनको इतिहासको चर्चा गर्दा राइट दाजुभाइको बारेमा शब्द खर्च गर्न सकिएन भने हवाई उड्डयनको इतिहास नै खल्लो हुन जान्छ । सन् १८६७ मा अमेरिकामा जन्मिएका विलवर र सन् १८७१ मा जन्मिएका ओरिभल दाजुभाइले सन् १९०३ मा विमान नामक यन्त्रको आविष्कार गरी राइट फ्ल्याएर नाम दिएर उडाएका थिए ।

जसलाई बनाउन तत्कालीन समयमा करिब ९ हजार डलर लागेको थियो भनिन्छ । राइट फ्ल्याएर नै संसारको पहिलो यस्तो वायुयान थियो जुन गुरुत्वाकर्षणबाट प्रभावित थिएन, जुन मानव चेतनाले नियन्त्रण गर्न सकिने खालको थियो र जुन विमान पूर्वजहरूले निर्माण गरेका विमानहरूको असफलताको पाठलाई सूक्ष्म अध्ययन गर्दै निर्माण गरिएको थियो । उक्त वायुयानको निर्माण पश्चात् राइट दाजुभाइले उक्त विमानको वनावट इन्जिनियरिङ कार्य आदिको बारेमा सर्वसाधारणलाई स्पष्ट रूपमा व्याख्या गरे ।

त्यसपश्चात् अन्य व्यक्तिहरूले पनि वायुयान निर्माणलाई तीव्रता दिन थाले । तसर्थ, हवाई उड्डयन क्षेत्रमा उनीहरूले गरेको योगदानलाई सदैव स्मरण गर्दै उनीहरूलाई आधुनिक हवाई उड्डयनका पिताको रूपमा सदैव उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ ।

वायुयान निर्माणको कुरा त परै जाओस्, राइट दाजुभाइले सन् १९०३ मा मानव चेतनाले नियन्त्रण गर्न सक्ने वायुयान बनाएको करिब ४६ वर्षपछि मात्र नेपालमा वायुयान अवतरण भएको थियो । उक्त विमानमा तत्कालीन भारतीय राजदूत सरजित सिंह सवार थिए । उक्त विमानले सन् १९४९को अप्रिल महिनामा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा अवतरण गरेको थियो ।

घाँसे मैदानमा विमान अवतरण गरेको केही समयपछि तत्कालीन श्री ५ को सरकारले भारत सरकारसँग हवाई उड्डयन सम्बन्धी सम्झौता गरी भारतीय वायुसेवा कम्पनी हिमालय एभिएशनको जहाज डीसी ०३ ले नेपालबाट कलकत्ताको लागि चार्टर्ड उडान गरेको थियो । क्रमैसँग यसका हवाई रुटहरू वृद्धि हुँदै दिल्ली, बनारस, पटना आदिसम्म पुगे । यो क्रम सन् १९४९ देखि सुरु भएर १९५३ सम्म चलिरह्यो ।

सन् १९५४ मा भारत सरकारले हिमालय एभिएशनलाई नाम परिवर्तन गरी इन्डियन एअरलाइन्स नामकरण गरी हवाई उड्डयन गर्न थाल्यो । तत्पश्चात् मात्र नेपालमा गौचरको घाँसे मैदानमा सानो टहराको रूपमा टर्मिनलको स्थापना भयो । क्रमैसँग सन् १९५५ जून १५ मा राजा महेन्द्रले आफ्ना स्वर्गीय पिता त्रिभुवनको नाममा गौचरको घाँसै मैदानलाई त्रिभुवन विमानस्थल नामकरण गरे ।

सन् १९५७ मा भारत सरकारको सहयोगमा घाँसे मैदानलाई कंक्रिट हाली पक्की बनाउने कार्य भयो । तत्पश्चात् नेपालको हवाई उड्डयन क्षेत्रको विकासको लागि भिन्दै निकायको आवश्यकताको महसुस गर्दै सुरुमा निर्माण तथा यातायात मन्त्रालयको मातहतमा रहेको संस्थालाई सन् १९५७ मा हवाई विभागको स्थापना गरी यसैको मातहतमा राख्ने कार्य भयो ।

त्यतिबेला एअरपोर्टमा हुने भन्सारलगायत अधिकांश कार्य हवाई सेवा विभागले नै गर्दथ्यो । नेपालमा हवाई उड्डयन क्षेत्रले वामे सर्दै गरेको बेला श्री ५ को सरकारले विस्तारै आफ्नै राष्ट्रिय ध्वजावाहक जहाजको परिकल्पना गर्न थाल्यो र सन् १९५८ मा डगलस डीसी ०३ डाकोटा नामक २८ सिटे जहाज ल्याएर नेपालदेखि भारतका विभिन्न शहरमा उडान गर्न थाल्यो ।

सन् १९५८ मा रोयल नेपाल एअरलाइन्स कल साइन दिएर आफ्नै भूमिबाट आफ्नै राष्ट्रिय ध्वजावाहक वायुयान उड्न थालेपछि विस्तारै यसका कानुनी पाटाहरूतर्फ पनि सरकारको ध्यान जान थाल्यो ।

यसैको प्रयासस्वरूप नेपालमा सन् १९५८ मा हवाई ऐन २०१५ स्थापना भयो । र, नेपाल सन् १९६० मा आईकाओको सदस्य राष्ट्र बन्यो । परिवर्तित समयक्रमसँगै सन् १९६४ मा त्रिभुवन विमानस्थलको नाम परिवर्तन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गरियो ।

नेपालमा हवाई उड्डयन क्षेत्रको विकासक्रमसँगै सन् १९७४ मा यूएनडीपी एवं आईकाओको सहयोगमा हवाई उड्डयन तालिम केन्द्रको स्थापना भयो । हवाई उड्डयनको सुरुवाती चरणमा भारत, थाइल्याण्ड लगायत देशहरूबाट जनशक्ति मगाएर सञ्चालन गरिएको यो क्षेत्रमा नागरिक उड्डयन तालिम केन्द्रको स्थापनापश्चात् यहीं तालिम प्रदान गरेर नेपाली कामदारहरूबाट पनि काम लिन थालियो ।

र, विस्तारै हवाई उड्डयनको क्षेत्रमा पनि नेपालीलाई रोजगारीका अवसरहरू सृजना हुन थाले । उड्डयन क्षेत्रको विकासक्रमसँगै सरकारले यो क्षेत्रलाई पनि एक उद्योगको रूपमा स्वीकार गर्दै यस क्षेत्रको विकास, सम्वद्र्धन एवं प्रवद्र्धन गर्नको लागि सन् १९९८ डिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना गर्‍यो । हालका दिनसम्म पनि हवाई उड्डयन सम्बन्धी सम्पूर्ण कार्यहरू यही निकायले हेर्ने गर्दछ ।

नेपालमा सन् १९५८ मा राष्ट्रिय ध्वजावाहक वायुयानले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान भरे तापनि निजी वायुसेवा कम्पनीतर्फ सर्वप्रथम नेकोन एअरले सन् १९९२ देखि सन् २००३ सम्म हवाई सेवा प्रदान गरेको थियो । त्यस्तै कस्मिक एअरले सन् १९९७ मा स्थापना भएर सन् २००८ सम्म सेवा प्रदान गर्‍यो । तर आर्थिक अभावका कारण यी वायुसेवा कम्पनीहरू लामो समयसम्म टिक्न सकेनन् ।

क्रमैसँग निजी वायुसेवा कम्पनीहरू बुद्ध एवं यती एअरलाइन्सहरू संचालनमा आए र विस्तारै अन्य एअरलाइन्सहरू पनि थपिने क्रम जारीे रह्यो । नेपालमा आजका दिनसम्ममा २४ भन्दा बढी वायुसेवा कम्पनीहरूले नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडानको अनुमति लिएका छन् तर नियमित १० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी एवं ६ वटा हेलिकप्टर चार्टर्ड गर्ने कम्पनीहरू मात्र सञ्चालनमा रहेको पाउन सकिन्छ । त्यस्तै नेपालमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थलसहित करिब ४३ वटा विमानस्थलहरू निर्माण भएकोमा १० वटा विमानस्थलहरू मात्र सक्रिय रूपमा सञ्चालनमा रहेको पाउन सकिन्छ ।

वायुसेवा कम्पनी दीर्घकालीन मुनाफाको उद्देश्य राखेर सञ्चालन गरिने संसारकै उच्च जोखिम भएको व्यापारमध्येको एक हो । उच्च संचालन एवं प्राविधिक खर्च, अन्तर्राष्ट्रियस्तरका बाध्यकारी नियम, शर्त एवं कठोर अनुशासनका परिधिहरूले गर्दा नेपालमा सञ्चालनमा आएका अधिकांश वायुसेवा कम्पनी घाटामा रहेका छन् । तसर्थ, सरकारले यस क्षेत्रका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नु नै समग्र वायुसेवा कम्पनीहरू दीर्घकालसम्म जीवित रहिरहने एउटा माध्यम बन्न सक्छ ।

(लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स कमर्सिएल आइटी ग्राउण्ड अप्रेसन विभागमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?