
१५ भदौ, काठमाडौं । दिनेश खड्काले काठमाडौंको मिनभवनमा जुम्लामा फलेको स्याउ बिक्री गर्छन् । आफ्नै फार्म र नजिकका अन्य फार्ममा फलेको स्याउ काठमाडौंवासीलाई चखाउन उनले स्याउ बिक्री थालेको १० वर्ष भयो ।
यो वर्ष उनले जुम्लाबाट ३२ क्विन्टल स्याउ काठमाडौं ल्याएका छन् । ‘गत वर्ष भन्दा यसपाली नेपाली स्याउको स्वाद मिठो छ,’ खड्का भन्छन्, ‘आयातित भन्दा सस्तो र राम्रो गुणस्तरको पनि छ ।’ खड्काकाअनुसार आयाति भन्दा नेपाली स्याउ आधाले सस्तो पनि छ ।
कालिमाटीमा आयातित फुजी स्याउ २८० रुपैयाँ प्रतिकिलो पर्ने तर जुम्लाका किसानले आफ्नै बारीमा फलाएको स्याउ अधिकतम् १७० रुपैयाँमा खुद्रामै बिक्री भइरहेको उनले बताए ।
राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार यो वर्ष राम्रो मौसमका कारण देशैभर स्याउको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । यतिबेला उच्च हिमाली भेगको स्याउका उत्पादन बजारमा आउन थालेको छ । तर, ढुवानी र भण्डारण समस्याले नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार कालिमाटी बजारमा पनि यति बेला स्वदेशी स्याउ भित्रिएका छन् । नेपाली स्याउ भारत र चीनबाट आयात भएका स्याउको तुलनामा गुणस्तरीय भए पनि कम मूल्यमा बिक्री भइरहेको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघकाअनुसार बजारमा अहिले आयातित स्याउको मूल्य तीन सय रुपैयाँसम्म प्रतिकिलो रहेकोमा नेपाली स्याउको अधिकतम् मूल्य नै २ सय रुपैयाँ प्रतिकिलो मात्रै छ ।
स्याउका लागि प्रख्यात जुम्ला र मुस्ताङमा यो वर्ष स्याउको उत्पादन १५ देखि २५ प्रतिशतसम्म बढेको छ । जुम्लामा यो वर्ष २९ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुप्पर जोनका अधिकृत लक्ष्मण खड्काका अनुसार जिल्लानमा ४ हजार १२० हेक्टर क्षेत्रफलमा स्याउ स्याउ खेती गरिएको छ । जसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत स्याउ सुप्पर जोनअन्र्तगत २३ सय ५ हेक्टरमा स्याउ खेती छ । जसमध्ये वर्ष ११ सय हेक्टरमा स्याउ उत्पादन भइरहेको छ ।
खड्काकाअनुसार जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका ४, ५, ६ र ७ वडा, गुठीचौर गाउँपालिका वडा नम्बर ३, ४ र ५ मात्रै ११ हजार २२० मेट्रिकटन स्याउ फल्ने देखिएको छ ।
यता मुस्ताङमा पनि यो वर्ष स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीकाअनुसार यो वर्ष १५ प्रतिशतले स्याउ उत्पादन बढ्ने देखिएको छ ।
‘अनुकूल मौसम, किराको समस्या नहुनु, बगैंचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको छ,’ बस्ताकोटीले भने । मुस्ताङमा एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाकाअनुसार नेपालमा स्याउ उत्पादनको क्षेत्रफल र उत्पादन हरेक वर्ष बढ्दै गएको छ । मानिसमा बढेको चेतना स्तरका कारण स्याउको उपभोग बढ्दा यसको बजार देख्नेले उत्पादन र आयातमा जोड दिएका छन् । गत वर्ष मात्रै नेपालमा १४ हजार १५३ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको छ । जसमध्ये ६ हजार ८८८ हेक्टरमा ५३ हजार २८५ मेट्रिकटन स्याउन उत्पादन भएको थियो ।
गत वर्ष प्रतिहेक्टर उत्पादकत्व ७.७४ प्रतिहेक्टर मेट्रिकटन रहेकामा यो वर्ष बढ्ने अनुमान छ । त्यस अघि २०७७/७८ मा ८.२ प्रतिहेक्टर मेट्रिकटन र २०७६/७७ मा स्याउको उत्पादकत्व ७.२ प्रतिहेक्टर मेट्रिकटन थियो ।
स्याउ फले पनि बजारमा ल्याउन र बिक्रीका लागि भने सकस रहेको उत्पादक किसान र व्यापारीहरुको दाबी छ । जुम्लाबाट काठमाडौंसम्म स्याउ ल्याउन ३ दिन लाग्ने र यहाँसम्म ल्याउने प्रक्रिया निकै झन्झटिलो र कठिन काम भएको व्यापारी दिनेश खड्का बताउँछन् ।
जुम्लाबाट काठमाडौसम्म एक गाडी स्याउ ल्याउन सवारी साधनको भाडा २ लाख रुपैयाँसम्म पर्ने उनले बताए । ‘किसानले टिप्ने, बोकेर एउटा ठाउँसम्म ल्याउने, त्यसलाई पुनः ट्याक्टरको साहायताले नजिकको राजमार्ग र त्यसपछि गाडीमा ल्याउनु पर्छ,’ उनले भने, ‘सहज ढुवानी भएको भए उपभोक्तालाई अझ सस्तो मूल्यमा गुणस्तरीय स्याउ खुवाउन पाइन्थ्यो ।’
राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइराला पनि किसानलाई स्याउको उचित भण्डारण र बिक्रीको गन्तव्यसम्म ढुवानीमा समस्या रहेको स्वीकार गर्छन् । सहज रुपमा स्याउ बजारसम्म पुग्ने हो भने नेपाली उतपादनमा उपभोक्ताको चाख बस्ने उनी बताउँछन् । स्याउको उचित भण्डारण भएको भए किसानले बेमौसमा राम्रो मूल्य पाउने थिए । गत वर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको ८ करोड ८७ लाख किलो स्याउ नेपाल भित्रिएको थियो ।
प्रतिक्रिया 4