
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) र क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्टबीच भेन्यु सम्झौता भएको छ । जसअनुसार निफमा छानिएका फिल्महरु क्यूएफएक्सका हलमा प्रदर्शन हुनेछन् ।
पाँच वर्षको लागि भएको यो सम्झौतामा निफ अध्यक्ष केपी पाठक र टिम क्वेस्टकी महाप्रबन्धक प्रशंसा पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा निफका फिल्म देखाइनेछ ।
सम्झौतापछि निफ अध्यक्ष पाठकले अनलाइनखबरसँग भने, ‘यो सम्झौतापछि अब दर्शकले गुणस्तरीय थलोमा फिल्म हेर्न पाउनेछन् । साथै, निकट भविष्यमा हामी मोफसलमा पनि फेस्टिभल विस्तार गर्ने तयारीमा छौं ।’
निफसँगको सहकार्यले नेपाली फिल्मको उचाई अन्तर्राष्ट्रिय उचाइमा पुग्ने आशा टिम क्वेस्टका निर्देशक भाष्कर ढुंगानाले बताए । निफको छैटौं संस्करण चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।
आगामी पुस १० गतेसम्मलाई आवेदन खुलाइएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय फिचर फिल्म, छोटा फिल्म, वृत्तचित्र तथा सर्ट एनिमेटेडसहितका सात विधामा आवेदन दिन सकिने भएको छ ।
प्रतिक्रिया 4