+
+

डेंगुबाट ३५ वर्षीया युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:५१

१६ भदौ, काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन्,’ धामीले अनलाइखबरसँग भने ।

स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए ।

महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी मुर्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना भएर उपचार गनुपर्ने वा चिकित्सकको निगरानीमा बस्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनको भनाइ छ । एडिज लामखुट्टेका कारण रोगको संक्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?