+
+
विचार :

पश्चिमी संसारको अभ्युदयदेखि एशियाको पुनरोदयसम्म !

कृष्ण पौडेल कृष्ण पौडेल
२०७९ भदौ १६ गते १४:५०

आजकल चीनको आर्थिक प्रगतिलाई बडो आश्चर्यको रूपमा चर्चा हुने गर्दछ, अनि भारतलाई पनि त्यसै पंक्तिमा राख्न थालिएको छ । अमेरिकालाई समेत उछिनेर विश्वको सबैभन्दा ठूलो आर्थिक बन्ने अवस्थालाई विद्यमान विश्व व्यवस्थामा भीषण प्रलय मानेर झस्कनेहरू पनि कम छैनन् ।

सन्निकट छिमेकीहरू विश्व शक्तिको शिखरमा चढ्दै गर्दा नेपालको अर्थ-राजनीति कम्पायमान हुनु स्वाभाविक हो, यसलाई अतिरञ्जित त्रासदीको रूपमा लिन जरूरी छ जस्तो लाग्दैन ।

वास्तवमा ऐतिहासिक दृष्टिले चीन र भारत जस्ता विशाल भूभाग र जनसंख्या भएका मुलुक महाशक्तिको हैसियतमा रहनु खासै आश्चर्यको विषय नहुनुपर्ने हो । बरु यिनीहरू कसरी पछाडि धकेलिए, त्यो आश्चर्यको विषय हो ।

सानो भूभाग र थोरै जनसंख्या, पिछडिएको चिसो हावापानीले कठ्याङ्ग्रिएको पश्चिम युरोपले कसरी चामत्कारिक प्रगति गरेर विश्वमा प्रभुत्व कायम गर्‍यो, त्यो अति आश्चर्यको विषय हो । प्राचीन इतिहासमा कतै गणना नभएको पश्चिमी संसारले सर्वोच्चता हासिल गरेको अन्तरकथा बुझ्न सके एशियाको पुनरुत्थानको मर्म मनन गर्न सहज हुन सक्छ ।

एशियन शक्ति पछाडि धकलिएको समय त्यति लामो भएको छैन । आजभन्दा दुई शताब्दी पहिला सन् १८२० सम्ममा तत्कालीन चीन र भारतले कुल विश्व जीडीपीको झण्डै आधा हिस्सा ओगट्थे, चीनको मात्र एक तिहाइ थियो ।

त्यसको लगभग एक शताब्दीपछि सन् १९१३ मा आएर कुल विश्व गार्हस्थ्य उत्पादनमा ती दुवै देशको योगदान १६ प्रतिशतमा खुम्चिन पुग्यो । त्यतिबेलासम्म पश्चिमी संसारको हिस्सा ५४ प्रतिशत पुगेको थियो ।

पूर्व आधुनिककालमा मात्र होइन प्राचीन र मध्ययुगमा समेत तत्कालीन चीन र भारतको संयुक्त आर्थिक हैसियत आधा विश्व बराबर थियो । मेडिसिनको आँकडा अनुसार इसाको पहिलो शताब्दीमा भारतको आर्थिक हिस्सा विश्वको झण्डै एकतिहाइ थियो ।

सन् १५०० मा पनि भारत र चीन प्रत्येकको एक चौथाइ थियो । यसरी हजारौं वर्षको एशियाको समृद्ध आर्थिक विरासत उन्नाइसौं शताब्दीमा आएर लगभग आधा शताब्दीको अवधिमा धरासायी भएको थियो ।

सामन्तवादको अवसान र पूँजीवाद उदयको प्रारम्भ पश्चिम युरोपबाट भयो । त्यसको पृष्ठभूमि त्यति स्वाभाविक नलाग्न सक्छ । विश्वका महान् प्राचीन सभ्यताहरूको विरासत युरोपलाई थिएन । ग्रीक सभ्यताका बौद्धिक सम्पदाहरू पनि अरबी भाषामार्फत पश्चिम युरोप पुगेका थिए ।

रोमन साम्राज्य विघटनपछिको मध्ययुग युरोपका लागि अन्धकारमय मानिन्छ । त्यसै समयमा मध्यपूर्वमा इस्लामिक स्वर्णयुगको बहार छाएको थियो । फलस्वरूप छोटो समयमै इस्लामिक मत, शक्ति र सभ्यता एटलान्टिकदेखि प्रशान्त महासागरका भूभागसम्म विस्तार भएको थियो ।

मध्ययुगसम्म भारत र चीनमा विकसित नयाँ ज्ञान प्रविधि मध्यपूर्वका मुस्लिमहरूले ग्रहण गरेका थिए । मध्यपूर्वमा विकसित ज्ञान र प्रविधि युरोपियनहरूले ग्रहण गरेर त्यसका आधारमा थप विकास गरे । गणितको अंक प्रणाली भारतबाट अरब हुँदै युरोप पुगेको मानिन्छ ।

चीन र भारतले आफ्नो ऐतिहासिक हैसियत पुनस्र्थापित गरे भने पश्चिमी शक्तिको अवस्था के हुन्छ, नयाँ विश्व व्यवस्था कसरी समायोजित होला भन्ने प्रश्न पश्चिमा दिग्गजहरूको लागि ठूलो टाउको दुखाइको विषय बनेको छ ।

तुलनात्मक रूपमा युरोपको प्राकृतिक हावापानी बसोबासका लागि सहज थिएन । कृषिका लागि त्यति अनुकूल थिएन । त्यसैकारण पनि युरोपमा जनघनत्व अझै कम छ । मध्ययुगमा पनि कृषि र स्थानीय उत्पादनमा आत्मनिर्भरता युरोपका प्रायः स्थानमा दुर्लभ थियो ।

त्यसकारण जीवनलाई सुरक्षित र सुविधायुक्त बनाउन युरोपियनहरू पनि लामो दूरीको व्यापारमा आकर्षित भए । प्राचीनकालमा लुटपाटका लागि जल र थलमा चक्कर काट्ने गरेका भाइकिङ, बार्बरहरूको विरासतप्राप्त युरोपवासीहरू पछि व्यापार व्यवसायका लागि घुमफिर गर्न छिट्टै निपुण भए ।

मध्ययुगसम्म विश्व व्यापारमा मध्यपूर्व नै अगाडि थियो । युरोपियनहरूले मध्यपूर्वबाट व्यापारिक ज्ञान र कला सिकेका थिए । मुस्लिमहरूका व्यापारिक सल्लाहकार एवं व्यवस्थापक यहुदीहरू नै युरोपियनहरूका व्यावसायिक सारथि बन्न पुगे ।

साथै युरोपियन समाजको गतिशीलताका कारण उत्पन्न वैज्ञानिक ज्ञान र चेतनाले व्यावसायिक सीप र प्रविधिको सुधारमा योगदान पुर्‍यायो । युरोपियन राज्यहरूबीचको आपसी प्रतिस्पर्धा र द्वन्द्वको वातावरणले सामरिक क्षमतामा अभिवृद्धि ल्यायो ।

युरोपभित्र जल यातायातको प्रयोग अत्यधिक हुने गरेकाले पनि त्यहाँ आधुनिक नेभिगेसन प्रविधिको विकास भयो, जसले गर्दा उनीहरूलाई लामो दूरीको सामुद्रिक यात्रा सम्भव तुल्यायो । सामुद्रिक यात्रा प्रविधिमा आएको कायापलटसँगै विश्वका महासागरहरूमा युरोपियनहरूको वर्चस्व स्थापित भयो, जसले उनीहरूको आर्थिक, राजनीतिक वर्चस्वका लागि आधार तयार गर्‍यो ।

सामुद्रिक यातायातमा मध्यपूर्वका व्यवसायी, भारतका तामिल तथा चाइनिजहरू पनि प्राचीनकालदेखि नै निपुण थिए । उनीहरूबीच मध्यपूर्वदेखि चीनसम्म व्यापारिक कारोबार हिन्द तथा प्रशान्त महासागरमा जल यातायातमार्फत हुने गरेको थियो । त्यस क्रममा चिनियाँहरू अफ्रिकन तटहरूसम्म पुगेका थिए ।

तर लाभभन्दा बढी क्षति भएका कारण थप अभियानमा रोक लगाइएको थियो । ज्ञान, विज्ञान, प्रविधि, सैन्य क्षमता र राजनीतिक क्षेत्रमा आएको प्रगतिको साथले युरोपियन वर्चस्वलाई सशक्त बनाइदियो । पूर्वआधुनिक युगमा आएको क्रमिक परिवर्तनले औद्योगिक क्रान्तिको आधार तयार गर्‍यो ।

समुद्री मार्गमार्फत पोर्चुगिजहरू सन् १४९८ को मेमा भारतको कालिकुट बन्दरगाह पुगेका थिए । उनीहरूले सन् १५११ मा मलायाको मेलाका कब्जा गरेको दुई वर्षमा चीनको क्यान्टोन पुगेका थिए । त्यसको एक शताब्दीपछि डच, अंग्रेज, फ्रेन्चहरू पुगेका थिए । युरोपियनहरूको समुद्रपार अभियान राज्य विस्तारभन्दा आर्थिक लाभमा केन्द्रित थियो ।

उनीहरू खासमा सोझै व्यापारिक वस्तु आयात गर्न त्यहाँ पुगेका थिए । त्योभन्दा पहिला इन्डोनेशियाको मसला, चिनियाँ सिल्क, भारतीय कटन कपडा आदि वस्तुहरू मुस्लिम व्यापारीमार्फत मध्यपूर्व हुँदै इटालीको भेनिस, जेनोवा इत्यादि शहरमा पुग्दथे र त्यहाँबाट यूरोपभर आपूर्ति हुने गर्दथ्यो । ती वस्तुहरू सोझै आयात गर्न सके अकल्पनीय आर्थिक लाभ हुनसक्ने देखेर पोर्चुगिजहरूले त्यो प्रयास सुरु गरेका थिए । पछि अरूले पनि त्यसको सिको गर्न थाले ।

भारतलाई उपनिवेश बनाएको ब्रिटिश इष्ट इण्डिया कम्पनीले लामो समय भारतको कटन कपडा आयात गर्ने गर्दथ्यो । यूरोपियनहरू मार्फत स्थानीय उत्पादन निर्यात हुन थालेपछि चीन र भारतको अर्थतन्त्र फस्टाएको थियो । सन् १७५० मा विश्वको कुल औद्योगिक उत्पादन मध्ये एक तिहाइ चीन र एक चौथाइ भारतमा हुने गर्दथ्यो ।

पछि कपास खेतीको विस्तार अमेरिकामा पनि व्यापक भयो । अफ्रिकन दासहरू लगाएर क्यारावियन क्षेत्र समेतमा विशाल कटन फार्महरू खोलिए । त्यहाँ कपासको नयाँ जीन र कपास प्रशोधन नयाँ प्रविधिको विकास हुन थाल्यो । इष्ट इण्डिया कम्पनीमार्फत भारतका तयारी कपडा समेत आपूर्ति हुने ब्रिटेनमा प्रविधि प्रयोग गरेर कटनका वस्तुहरू उत्पादन हुन थाल्यो । ऐतिहासिक औद्योगिक क्रान्ति कटन उद्योगबाट नै प्रारम्भ भएको थियो ।

उन्नाइसौं शताब्दीमा बेलायतबाट प्रारम्भ भएर पश्चिम यूरोप र उत्तरी अमेरिकामा विस्तार भएको औद्योगिक क्रान्तिले पश्चिमी संसारलाई औद्योगिक वस्तुहरूको आयातकर्ताबाट निर्यातकर्तामा परिणत गरिदियो । भारत, चीन लगायत एशियन मुलुकहरू निर्यातकर्ताबाट आयातकर्तामा बदलिए ।

आधुनिक मेशिनबाट बनेका सस्ता वस्तुको प्रवाहले परम्परागत हाते प्रविधिका वस्तुको मूल्य महँगो पर्न थाल्यो । स्वतन्त्र राजनीतिक हैसियत समेत गुमाइसकेकोले आन्तरिक उद्योगको संरक्षण नीति अपनाउन सक्ने अवस्था रहेन । जसकारण भारत, चीन लगायत नेपालमा समेत डि–इण्डष्ट्रियलाइजेशन (प्रति–औद्योगीकरण) भयो ।

अन्ततः सन् १९१३ सम्म विश्वको कुल औद्योगिक उत्पादनमा बेलायत र अमेरिकाको मात्र तीन चौथाइ हिस्सा पुग्यो भने चीनको साढे तीन प्रतिशत र भारतको करिब डेढ प्रतिशतमा झर्न पुग्यो ।

जतिबेलासम्म अर्थतन्त्र जमिन र जनसंख्यामा आधारित थियो त्यतिबेलासम्म जन र जमिनले सम्पन्न चीन, भारत लगायतका एशियन मुलुकहरू सापेक्षित रूपमा सम्पन्न र शक्तिशाली थिए । जब अर्थतन्त्र आधुनिक प्रविधि र ज्ञानमा आधारित हुन थाल्यो थोरै जनसंख्या, सीमित जमिन र प्राकृतिक स्रोत भएका पश्चिमी मुलुकहरूको वर्चस्व बढ्दै गयो ।

विशेष गरेर चीनले आधुनिक अर्थतन्त्रको लागि व्यापारिक सञ्जाल, प्रविधि र ज्ञानको प्रमुख आधार रहेको रहस्यलाई राम्रोसँग महसुस गरेको र सो बमोजिम सुविचारित रणनीति तय गरेको बुझिन्छ ।

आधुनिक अर्थतन्त्रको लागि महत्वपूर्ण अनुकूलता भनेको आफ्नो उत्पादनको लागि आफ्नै विशाल आन्तरिक बजार, जनशक्ति र प्राकृतिक स्रोत समेत हुनु हो । उनीहरूलाई खाँचो आधुनिक प्राविधि र ज्ञानको ग्रहण, नवप्रवर्तन एवं विकास हो ।

पश्चिमाहरू बजार, श्रम, प्राकृतिक स्रोत आदिको लागि खासगरी एशिया र अफ्रिकामा निर्भर थिए र छन् पनि । भारत, चीन जस्ता मजबुत आधार भएका विशाल मुलुकको लागि त्यसमा धेरै सहजता छ ।

चीन, भारतले आफ्नो ऐतिहासिक हैसियत पुनस्र्थापित गरे भने पश्चिमी शक्तिको अवस्था के हुन्छ, नयाँ विश्व व्यवस्था कसरी समायोजित होला भन्ने प्रश्न पश्चिमा दिग्गजहरूको लागि ठूलो टाउको दुखाइको विषय बनेको छ ।

(‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तकमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?