
१६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ ६ वटा कम्पनीलाई भेन्चर क्यापिटलको अनुमति दिएको छ ।
बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेडललाई भेञ्चर क्यापिटल सञ्चालनको अनुमति दिएको हो ।
यसअघि अवसर इक्विटि फण्ड लिमिटेड र ग्लोबल इक्विटी फण्डलाई धितोपत्र बोर्डले भेन्चर क्यापिटलको अनुमति दिएको थियो । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले थप ६ कम्पनीलाई भेञ्चर क्यापिटलको अनुमति दिने निर्णय गरेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।
यस्तै बोर्डले तोकेको कागजात र मापदण्ड पूरा गर्ने आध्यान्त फण्ड लिमिटेडलाई पूर्वाधार तयार गर्न निर्देशन दिएपनि कम्पनीको पूर्वाधार तयार हुन बाँकी रहेकोले अनुमति नपाएको बोर्डले जनाएको छ । अन्य ८ वटाले पनि भेञ्चर क्यापिटल फण्ड सञ्चालनका लागि अनुमति माग गरेपनि उनीहरुको भने आवश्यक कगजात पूरा हुन नसकेको बोर्ड स्रोतले बताएको छ ।
नेपाल धितोपत्र बोर्डले २०७५ मा विशिष्टिकृत लगानी कोष सञ्चालन नियमावली ल्याएको थियो । बोर्डले प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न उक्त नियमावली ल्याएको बोर्डले जनाएको छ । नियमावलीको नियम ४ को आधारमा बोर्डले भेञ्चर क्यापिटल सञ्चालनको अनुमति दिएको हो ।
‘लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपूँजीमा लगानी गर्न सक्ने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानुन बमोजिम मान्यता प्राप्त कोष, द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, लगानी गर्न सक्ने उद्देश्य भएका प्रचलित कानुन बमोजिम नेपालमा स्थापना भएका संस्था, नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई योग्य लगानीकर्ताको रुपमा रहने व्यवस्था गरिएको छ’ नियमावलीमा भनिएको छ ।
प्रतिक्रिया 4