
पोखरामा आयोजित साहित्य महोत्सवमा प्रवचन दिइरहेको दुब्लो दुब्लो, कपाल सेतो भएको एक विद्वत् व्यक्ति माथि मेरो नजर ठोकियो। महाभारतमाथि उहाँले दिएको प्रवचन सुन्दा कति चाँडो समय बितेछ मलाई पत्तै भएन।
द्रौपदीको चीरहरणदेखि अनेक मिथक बनाएर महिलालाई साँघुरो चौघेराभित्र थुन्न र पितृसत्ताको जग बसाउन भूमिका खेल्ने महाभारतमाथि व्याख्यान गरिरहेको त्यो पुरूष आकृति मेरो स्मृतिबाट अहिलेसम्म हटेको छैन।
महिला मुक्तिका लागि र पितृसत्ता विरूद्ध लडिरहेको म लगायत मेरो पुस्तालाई मुग्ध बनाउने त्यो तार्किक प्रस्तुतिको झङ्कारले अहिलेसम्म मेरो कलिलो मस्तिष्कलाई हिर्काइरहन्छ। सोच्छु, महाभारतलाई त्यसरी चिरफार गरेर म जस्तो राजनीतिको विद्यार्थीलाई सामान्यीकरण गर्दै कसरी बुझाउन सकेका होलान् ?
ममा आलोचनात्मक चेतको बीजारोपण गरिदिने श्रद्धेय व्यक्ति प्रदीप गिरि अहिले हामी माझ हुनुहुन्न । तर मेरा हरेक वैचारिक कदममा लट्ठी झैं बनेर मलाई अगाडि बढ्न प्रेरित गरिरहनुभएको छ ।
करिब आधा दशक अघि नै मैले श्रद्धास्वरूप उहाँलाई एक सम्बोधन दिएकी थिएँ, ‘हजुरबुबा’। तत्कालै उहाँले मलाई नातिनी भन्नुभयो। यो नाता-साइनो अजरअमर रहन्छ कि रहँदैन, त्यसका लागि मैले आफूलाई प्रमाणित गर्नुपर्ने यत्नहरू सर्वत्र छन्।
करिब एक साताअघि मेडिसिटी हस्पिटलको बेडमा उहाँलाई भेट्दा लाग्यो कि हजुरबुबा-नातिनीको सम्बन्धको आयु दशकौं दशक छैन। किनकि समय न हजुरबुबाको वशमा थियो न त म बबुरो नातिनीको वशमा। एउटा ठूलो विचारको विश्वविद्यालयबाट दीक्षित हुने अवसरबाट वञ्चित भएँ म। यो गुनासो कसलाई सुनाऔं म ? धर्म र ईश्वर नमान्ने उहाँको वशमा थिएन न मेरो किशोर कर्ममै थियो। बाँकी जे थियो, समयको हातमा थियो।
उहाँसँग जब भेट हुन्थ्यो वैचारिक हिसाबमा तरंगित हुन्थें। मार्क्स, लेनिन, एङ्गेल्सलाई नजिकबाट बुझ्ने अवसर मात्रै हैन,

मार्क्सवादको सैद्धान्तिक जग, त्यसको वैचारिक प्रभाव र विस्तारबारे उहाँको सत्सङ्गले अवगत हुन सकें। म स्वयं कम्युनिस्ट पार्टीमा आवद्ध छु तर कम्युनिज्मको अर्थ र सार बुझ्नलाई प्रदीप गिरिकै संगतमा रहनुपर्यो। यसकारण उहाँ कुनै अमूक पार्टी र कार्यकर्ताको मात्रै नेता हैन, ज-जसले वैचारिक विरादरीलाई सम्मान गर्छन्, उनीहरूको पनि नेता हुन्- प्रदीप गिरि।
तपाईंले खोज्नुभयो भने मेरो उमेर पुस्ता कुनै डेटिङ स्पटमा भेटिन सक्छ। कोही कुनै क्लब, बारमा भेटिन सक्छ अथवा कोही कुनै लागूपदार्थबाट ग्रसित भएर पुनर्स्थापना केन्द्रमा भेटिन सक्छ। त्यही पुस्ताको एक प्रतिनिधि पात्र न हुँ म जसले गिरिको विराट वैचारिक धरातललाई छिचोल्न सक्दैन। गिरिको विद्वत्ता, विवेक र चेतनाको सम्मुख पुग्न सक्दैन। तर पनि उनले जे चिज छाडेर गएका छन् त्यो मेरो पुस्ताका लागि राजनीतिकको पाठशाला सदैव बन्नेवाला छ।
अस्ति जब उनको लासमाथि फूल चढाउनलाई तयार भएर उभिएकी थिएँ, मेरो जीउ यसरी काँप्यो मानौं कुनै डरलाग्दो विपत्ति आइरहेको छ। हुन त मृत्यु अवश्यम्भावी छ नै। तर मेरो मनमस्तिष्कले मान्दै मानेन कि उनी एक मानिस मात्रै हुन्। गिरिको पार्थिव शरीरमाथि एक थुङ्गा फूल चढाउॅंदै गर्दा लागेको थियो कि विचारको विश्वविद्यालयको गेट अघि श्रद्धाले फूल चढाइरहेकी थिएँ।
जब म गिरि हजुरबुबालाई भेट्थें, उहाँ भन्नुहुन्थ्यो ‘नातिनी मसँग त समय एकदमै कम छ तर तिमीसँग त पचासौं वर्ष अझै समय बाँकी छ। तिमीले धेरै थोक गर्न सक्छ्यौ। तिम्रो हरेक निर्णय जनताको पक्षमा भइरहनुपर्छ। आखिर तिमीले प्राप्त गर्ने चिजहरू पनि तिनै जनताका कारण हुन् र तिमीले सेवा गर्ने पनि तिनै जनताको लागि हो।’
अझै पनि मलाई लागिरहेको छैन कि उहाँ दिवङ्गत हुनुभयो। उहाँले मेरो वैचारिक तलाउमा तरङ्ग ल्याइरहनुभएको छ। मलाई भनिरहनुभएको छ कि राजनीतिमा जब कसैले विचारलाई लात हानेर अगाडि बढ्न खोज्छ, अन्ततः ऊ विचारविहीनताको खाडलमा पुरिंदैन मात्रै, उसले आफ्नो राजनीतिक जीवन, संगठनलाई नै भड्खालोमा पार्छ।
मैले गिरिको विचार अथवा उहाँको प्रवचनलाई कति नजिकबाट महसुस अथवा आत्मसात् गरें थाहा छैन। तर मेरो कलिलो चेतना माथि उहाँले रोपेको बीउ सदासदा अङ्कुराइरहनेछ ! उहाँले छाडेको वैचारिक निष्ठाले पछिल्लो पुस्ताकी म लगायत मेरो पुस्ताको धेरैलाई विचार र सिद्धान्तको कसीमा उभ्याएर निशर्त जनताको सेवामा लाग्न अभिप्रेरित गरिरहनेछ।
मलाई, ‘हार्दिक श्रद्धासुमन’ भन्न मेरो आत्माले दिइरहेको छैन तर मैले यो तितो सत्यलाई स्वीकार्नै पर्नेछ कि उहाँ हामीमाझ हुनुहुन्न। उहाँको वैचारिक मार्गदर्शनलाई आत्मसात् गरेर अगाडि बढ्नुको विकल्प छैन। र अन्त्यमा उहाँको वैचारिकीलाई काँधमा बोकेर फक्राउने र फुलाउने अभिभारा तपाईं हाम्रो सामुन्ने खडा भएर उभिएको छ।
प्रतिक्रिया 4