
१६ भदौ, काठमाडौं । बानेश्वरको बुद्धनगरमा मृत भेटिएका दुईजना विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।
बुधबार साँझ ५ बजेतिर निर्माणाधीन घरबाट हामफालेर १३ र १४ वर्षका किशोरकिशोरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार उनीहरुले लेखेको सुसाइड नोटसमेत भेटिएको छ । मध्यबानेश्वरस्थित पाठशाला विद्यालयमा उनीहरुले ब्याग छाडेका थिए, त्यसमा भेटिएको एक डायरीमा सुसाइड नोट भेटिएको हो । नोटमा आमालाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको भनिएको छ ।
घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । यसका लागि मध्य बानेश्वरस्थित स्कुलको कक्षा ९ मा पढ्ने अन्य सहपाठीसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।
मृतक दुवैजना पेप्सिकोलामा बस्दै आएका थिए । दुबै जना स्पोर्टस् ड्रेसमा बुधबार स्कुल आएका थिए । तर साँझ दुवै गम्भीर घाइते अवस्थामा बद्धनगरमा भेटिएका थिए ।
घरमा काम गर्ने मजदुरहरुले उनीहरु माथि जाँदै गरेको देखेका थिए । त्यसैले प्रारम्भिक जाँचमै उनीहरुले आत्महत्या गरेको हुनसक्ने देखिएको थियो ।
एक अनुसन्धान अधिकृत भन्छन्, ‘आत्महत्या गरेको भन्ने देखियो, कारण मात्र के हो भन्ने बाँकी रह्यो ।’ यद्यपि मृत्युको कारण पोष्टमार्टम रिपोर्टले निक्र्यौल गर्नेछ ।
अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय देखिएका छैनन् ।
हालसम्म प्रहरीले फेला पारेको तथ्य अनुसार उनीहरु निर्माणाधीन घरमा पुगेको केही समयमै घटना भएको हुनसक्ने देखिएको छ । प्रहरीले घटनास्थल आसपासका क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरु पनि संकलन गरिरहेको छ ।
प्रहरीले उनीहरु युएन पार्क वा अन्त कतै घुम्न गएर फर्किएको हुनसक्ने अनुमान गरेको छ । त्यही क्रममा फर्किएर आउँदा बाटोमा देखेको निर्माणाधीन घरमा चढेर हामफालेको हुनसक्ने एक अधिकृतले बताए ।
विस्तृत अनुसन्धान जारी छ ।
प्रतिक्रिया 4