
१६ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नागरिकता विधेयकका सन्दर्भमा नेकपा एमालेले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै उनले आफू सरकारमा हुँदा ल्याएको विधेयक र अध्यादेशमा अंगीकृत नागरिकताका सन्दर्भमा ओली मौन बसेकोबारे जवाफ दिनुपर्ने समेत बताए ।
‘तत्कालीन केपी शर्मा ओलीको सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउँदा वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा केही उल्लेख गरिएको थिएन । पछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा ७ वर्षको प्रावधान थपिएको थियो,’ उनले भने, ‘त्यस्तै संसद विघटनपछि ल्याएको अध्योदशमा पनि उक्त विषयमा मौनता साँधिएको थियो, जसको अर्थता त नेपाल नागरिकता ऐन २०६३ कै प्रावधानलाई निरन्तरता दिनु हो ।’
‘जतिबेला आदरणीय नेता केपी ओली नेतृत्वको सरकार थियो, त्यो सरकारले प्रतिनिधिसभामा विधेयक पेस गर्यो,’ देवले भने, ‘यदि वैवाहिक अंगीकृतको सवाललाई रिभ्यू गर्नु थियो र अहिलेको संवैधानिक-कानूनी व्यवस्थाले राष्ट्रियतामा खतरा नै ल्याएको थियो, राष्ट्रियता समाप्त गर्ने नै यो धारा हो भन्ने त्यो पार्टीलाई लागेको थियो भने त्यो विधेयकमा वैवाहिक अंगीकृत सम्बन्धी व्यवस्था किन परेन ?’
ओलीले यसको जवाफ नदिएसम्म नागरिकतामा राजनीतिकरण गरिरहेको आरोप एमालेलाई लाग्ने उनको भनाइ छ। ‘यसको जवाफ प्रमुख प्रतिपक्षी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले दिनुपर्छ,’ उनको भनाइ थियो, ‘यसको जवाफ नदिउन्जेलसम्म यो आरो रहिरहन्छ कि त्यो पार्टीले नागरिकताको विषयलाई राजनीतिकरण गरिरहेको छ । गलत ढंगले, नक्कली राष्ट्रवादलाई प्रश्य दिइराखेको छ भन्ने आरोप लाग्छ ।’
वैवाहिक अंगीकृतको विषय नसमेटिएको अध्यादेश राष्ट्रपतिले विद्युतीय प्रवाह जसरी स्वीकृत गरेको भन्दै देवले अगाडि भने, ‘अध्यादेश ल्याउँदा पनि वैवाहिक अंगीकृतको कुरा त आएन नि । केपी ओलीको सरकारले नै त्यो अध्यादेश ल्याएको थियो, त्यसलाई राष्ट्रपतिले विद्युतीय प्रवाह जस्तो स्वीकृत गरिदिनुभयो ।’
फरक प्रसँगमा देवले एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता भन्ने एमालेका वरिष्ठ नेताहरुकै टिप्पणी आइरहेको भन्दै यसबाट सम्बन्धित समुदायलाई पीडा हुने समेत बताए । ‘एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता, बिहेको यज्ञमै नागरिकता … यी शब्दावलीहरु त्यो तहको नेताहरुबाट व्यक्त भइरहेको छ,’ उलने भने ।
उनले अगाडि भने, ‘नेपालभित्रको एउटा सांस्कृतिक समुदायलाई यसबाट कति पीडा हुँदो हो । जसलाई एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता भनेर लक्षित गरिएको छ, त्यो समुदायलाई कति पीडा हुँदो हो ?’
प्रतिक्रिया 4