
काठमाडौं । अभिनेता सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजोआजका कुरा’मा समावेश गीत ‘परदेश’ सार्वजनिक भएको छ । असोज २८ गते रिलिजको तयारीमा रहेको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् ।
फिल्मको पहिलो गीत ‘ए जदौ माया जदौ’ यसअघि नै हिट भइसकेको छ । उक्त गीतलाई अहिलेसम्म युट्युबमा २ करोड ५८ लाखभन्दा बढी पटक हेरिएको छ । कोरोना महामारीले पूर्वनिर्धारित २०७७ वैशाख १२ मा प्रदर्शन स्थगित गरिएको फिल्म अब भने दशैं र तिहारको बीचमा आउन लागेको हो ।
सार्वजनिक भएको दोस्रो गीतको शब्द एकतारे र साकार पन्तले लेखेका हुन् । स्वर र संगीत हर्कुलस बस्नेतको छ । विरही भावको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मञ्जु श्रेष्ठ, दिव्यदेव फिचर्ड छन् ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तले लेखेका हुन् भने पटकथा सन्दीप कृष्णाको छ ।
डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भई दर्शकमाझ चर्चित टेलिश्रृंखला ‘हिजोआजका कुरा’कै टिमले फिल्म निर्माण गरेको हो ।
प्रतिक्रिया 4