
१७ भदौ, काठमाडौं । बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन भएको छ । ठूला चाड पर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने समयमा सरकारले भने अनुगमनकारी निकाय नै कमजोर बनाएको हो ।
विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई मन्त्रालयले बिहीबार सरुवा गरेको मन्त्रालय स्रोतले बतायो । शर्मा मन्त्रालयको प्रशासन शाखामा सरुवा भएका छन् । उनी विभागबाट बिदा भइसकेको छन् । गत चैतमा तत्कालीन महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालयमा तानेर शर्मालाई विभागमा ल्याइएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त विभागको नेतृत्वमा कसैलाई पनि पठाएको छैन । उपभोक्ताको हितका लागि काम गर्ने निकाय सरकारका लागि प्राथमिकताको विषय नभएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजन बताउँछन् । उपभोक्ता हितका लागि थप शक्तिशाली बनाएर काम गर्नु पर्ने निकायमा ५ देखि ६ महिनामा नेतृत्व परिवर्तन भइरहनु राम्रो नभएको मर्हजनको भनाइ छ ।
‘विभागको नेतृत्वमा भएको अस्थिरताले उपभोक्ताका गुनासोहरुको सही सम्बोधन हुँदैन, मर्हजन भन्छन्, ‘नेतृत्व नभए पछि कर्मचारीहरुमा अराजकता बढ्छ ।’
अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना ठूला चाड पर्वको मुखैमा विभाग नेतृत्वविहीन बनाउनु सरासर गलत भएको बताउँछन् । ‘अबको एक महिना बजारमा वस्तु खरिद बिक्रीको गतिविधि बढ्ने समय हो, यस्तो बेलामा उपभोक्ता ठगिने डर अधिक हुन्छ,’ तिमल्सिना भन्छन्, ‘ यस्तो बेलामा विभाग थप चुस्त बनाउनु पर्नेमा कमजोर बनाइनु दुःखद् छ ।’
तत्काल विभागमा नयाँ नेतृत्व पठाउन र जनशक्ति र स्रोत साधन थप गरेर बजार अनुगमन बढाउन पनि उनले माग गरे ।
प्रतिक्रिया 4