
१८ भदौ, पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि नाम सिफारिस भएको हो ।
लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको छ । घलेले संघबाहेक अन्त चुनाव नलड्ने बताएपछि पृथ्वीसुब्बाको नाम प्रदेशकै सिफारिस भएको नेताहरू बताउँछन् ।
घलेले २०७४ सालमा पनि संघकै टिकट मागेका थिए । तर एमाले र माओवादी एकताका कारण माओवादी नेता देव गुरुङले टिकट पाए । एमालेभित्र माधवकुमार नेपाल समूहसँग नजिक रहेका घले पार्टी विभाजनपछि भने एमालेमै बसेका थिए ।
एक जिल्ला नेताका अनुसार पृथ्वीसुब्बाका लागि संघभन्दा प्रदेश नै बढी सुरक्षित छ । यसअघि पृथ्वीसुब्बा संघमा पटक पटक पराजित भएका थिए । २०७० सालकै चुनावमा क्षेत्र नम्बर १ बाट जमिन्द्रमान घले विजयी हुँदा पृथ्वीसुब्बा २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रबहादुर कुँवरसँग पराजित भएका थिए ।
प्रदेशमा सांसद भएर मुख्यमन्त्री भएका गुरुङलाई फेरि पनि मुख्यमन्त्री बनाउने भन्दै प्रदेशमै नाम सिफारिस गरिएको एक नेताले बताए । सो क्षेत्रमा पृथ्वीसुब्बासँगै एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस गरिएको छ । प्रदेश सभा ‘क’मा धनञ्जय दवाडीसँगै राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया 4