+
+

संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा, यस्ता छन् उनका प्राथमिकता

श्रष्टाका लागि दाउरा पनि माग्नुपर्ने स्थिति नआओस् भन्ने चाहन्छौं : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते २२:३४

काठमाडौं । संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चुनिएका छन् । काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारणसभाले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् । यसैगरी महासचिवमा वसन्त सापकोटा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छन् । सदस्यहरुमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा चयन भएका छन् ।

कार्यक्रममा संगीतकार संघका संस्थापक अध्यक्ष एवं संघका संरक्षक शम्भुजित बास्कोटा, वरिष्ठ संगीतकार दीपक जंगम, प्रकाश गुरुङ, बुलु मुकारुङ लगायतको सहभागिता थियो ।

कार्यक्रममा अनलाइनखबर डटकमका पत्रकार विष्णु शर्मालाई ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै बालप्रतिभा पुरस्कार यस वर्ष बालगायिका पूजा देवकोटा र बालगायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ ।

श्रष्टाका लागि दाउरा पनि माग्नुपर्ने स्थिति नआओस् भन्ने चाहन्छौं : सापकोटा

नवनिर्वाचित अध्यक्ष सापकोटाले संगीतकर्मी कल्याणकारी कोष वृद्धि गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘श्रष्टाहरुलाई आर्थिक संकटका कारण स्वास्थ्य उपचार लगायतका समस्या आइनपरोस् भनेर हामीले संगीतकर्मी कल्याणकारी कोष बनाएका छौं, सोही कोषबाट हामीले दीप श्रेष्ठलाई २ लाख रुपैयाँ सहयोग पनि गर्‍यौं,’ अध्यक्ष सापकोटाले भने, ‘यसैगरी अन्य श्रष्टाहरुलाई पनि सहयोग गर्न सकियोस् भनेर कल्याणकारी कोषलाई वृद्धि र व्यवस्थित गर्नुपर्ने छ ।’

उनले भने, ‘दिवंगत श्रष्टाहरुलाई आर्यघाटमा पुर्‍याइसकेपछि दाउरा पनि सहयोग माग्नुपर्ने स्थिति नआओस्, कल्याणकारी कोषबाटै खर्च गर्न सकियोस् भन्ने सोच छ ।’

रोयल्टी र प्रतिलिपि अधिकारलाई कडाइका साथ कार्यान्वयन गर्ने, सांस्कृतिक ग्राम बनाउने, संस्थापक अध्यक्ष शम्भुजित बास्कोटाको परिकल्पना अनुसार संगीत विकास बोर्ड गठन गर्ने लगायतका काम पनि प्राथमिकतामा राखेको उनले बताए ।

संगीतकार संघको भवन निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराइदिनुपर्ने भन्दै उनले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । ‘हामीसँग भवन बनाउने पैसा छ, सरकारले जग्गा उपलब्ध गराइदिनुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?