
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदर दिने गरी १० वर्ष अवधिको ऋणपत्र निष्कासनमा ल्याएको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको छ । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र खरिदमा लागि छिटोमा २१ भदौसम्ममा आवेदन दिनुपर्ने र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि ३१ भदौसम्म थप हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा ईक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ईक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था संकेत गर्छ ।
ऋणपत्र नेपसेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया 4