
ललितपुर । सरकारले माटो जोगाऔं अभियानमा ऐक्यबद्धता जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयले सो अभियानमा एकवद्धता जनाएका हुन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोला नाला वरपर ३० हजार रुख रोप्ने घोषणा गर्दै माटो जोगाउने अभियानमा सरकारको साथ रहने बताए ।
सेभ सोइल अर्थात् माटो जोगाऔं अभियान बेलायतबाट सन् २०२२, २१ मार्चमा सुरु गरिएको हो ।
कार्यक्रममा इशा फाउन्डेशनका संस्थापक सद्गुरुले मन्त्री यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई माटो बचाउ नीति पुस्तिका हस्तान्तरण गरे ।
पुस्तिकाले व्यवहारिक एवं वैज्ञानिक समाधान प्रदान गर्नुको साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्परा अनुसार लिनसक्ने कदमको बारेमा जानकारी दिने फाउन्डेसनले जनाएको छ ।
सद्गुरुले माटोको विनासलाई रोक्न सबै जना एकजुट हुनका लागि आह्वान गरे । लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले माटो बचाउने दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गरे ।
यो अभियान अन्तर्गत सद्गुरुले एक सय दिन लगाएर तीस हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेका थिए । सो अवसरमा सद्गुरुले माटो विनाशबारे विश्वभरी जनचेतना जगाउने र माटो जोगाउन विश्वको ध्यानाकर्षण गराएका थिए ।
फाउन्डेसनका अनुसार यो अभियानले विश्वभरीका झण्डै ४ अर्ब मानिसको समर्थन पाएको र ८० राष्ट्रहरुले माटो जोगाउ उचित कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4