
१९ भदौ, विराटनगर । नेकपा एमालेले मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको बैठकमा पूर्व मन्त्री तथा वर्तमान सांसद लालबाबु पण्डितको नाम सर्वसम्मत नभएपछि क्षेत्रीय कमिटीले दुई जनाको नाम सिफारिस गरेको हो ।
बैठकले पूर्वमन्त्री पण्डित र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीको नाम सिफारिस गरेको हो ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका थिए । ३३ हजार ९४१ मतसहित पण्डित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी डाक्टर कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका थिए ।
एभरेष्ट एजुकेशन फाउण्डेशनका अध्यक्ष पुरी तीन दशकयता वामपन्थी आन्दोलनमा छन् । पुरी लेखक पनि हुन् । उनले गत चैत १० गते ‘खाली खुट्टा’ पुस्तक सार्वजनिक गरेका थिए ।
नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभाको उम्मेदवारका लागि डा. शेखर कोइरालासहित चार जनाको नाम सिफारिस गरेको थियो । यो क्षेत्रबाट कोइरालासँगै डाक्टर डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको काङ्ग्रेस जिल्ला सचिव मोदराज घिमिरेले बताए ।
प्रतिक्रिया 4