
२० भदौ, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए ।
उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए । उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताए ।
‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ,’ उनले भने, ‘यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो ? त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ ।’
उनले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराए ।
प्रतिक्रिया 4