
२१ भदौ, विराटनगर । नेपाली कांग्रेसले सुनसरीका दुई क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
चार वटा क्षेत्रमध्ये ३ र ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको हो । क्षेत्रनम्बर १ बाट भने पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम सिफारिस भएको छ ।
कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहकाअनुसार क्षेत्र नम्बर ३ बाट निलम्बित सांसद विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ४ बाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नाम पनि सर्वसम्मत भएको छ ।
गच्छदार २०४८ सालयता निरन्तर सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितिरहेका छन् । कार्की २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ झरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर १ बाट मिनबहादुर विश्वकर्मासहित पाँच जनाको नाम सिफारिस भएको छ । जिल्ला सचिव साहका अनुसार विश्वकर्मासँगै लक्ष्मी खतिवडा, उमेश थापा, मीना सुब्बा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट वर्तमान सांसद सीताराम मेहतासँगै प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला र राजिव ढुंगानाको नाम सिफारिस भएको उनले हो । क्षेत्रीय समितिबाट आएको नाम प्रदेश समितिमा पठाइएको उनले बताए ।
प्रतिक्रिया 4