+

राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिलाकाे आत्मविश्वास : बोलेर होइन, खेलेर साफ जित्ने

२०७९ भदौ  २१ गते १५:२८ २०७९ भदौ २१ गते १५:२८
राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिलाकाे आत्मविश्वास : बोलेर होइन, खेलेर साफ जित्ने

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) नेपालले भुटानसँग खेल्दा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका लागि करिअरको महत्वपूर्ण कोशेढुंगा हुनेछ । २६ वर्षीया यी खेलाडीले नेपालको कप्तानी गर्दैछिन् । उनी नेपाली महिला राष्ट्रिय टिमको दशौं कप्तान बनेकी छन् ।

पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा नेपाली टिम आत्मविश्वासी छ । कप्तानका रुपमा टिम व्यवस्थापनले आफूप्रति गरेको विश्वासले एन्जिलालाई थप जिम्मेवार बनाएको छ ।

नियमित कप्तान रेणुका नगरकोटे प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि एन्फाले एन्जिलालाई सोमबार कप्तान नियुक्त गरेको हो । साफको १२ वर्षे इतिहासमा नेपाली टिमको नेतृत्व गर्ने उनी पाँचौं कप्तान हुनेछिन् ।

अहिलेसम्म भएका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता र एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो । पाँचैपल्ट भारतसँग हार्नुपरेको थियो ।

नेपाली महिला टिमले घरेलु मैदानमा लगातार दोस्रोपल्ट र देशको प्रमुख दशरथ रंगशालामा पहिलोपल्ट ठूलो प्रतियोगिता खेल्दैछ । २६ वर्षीया एन्जिला विभागीय टोली एपीएफबाट व्यावसायिक फुटबल खेल्छिन् ।

यसअघि उनले सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा नेपाली टिमको कार्यवाहक कप्तानी गरेकी थिइन् । २०७७ चैतमा मासा युनाइटेडको कप्तानी गर्दै पाकिस्तानको राष्ट्रिय महिला प्रतियोगिता खेलेकी थिइन् ।

नेपाली महिला फुटबलमा एन्जिला पछिल्लो समय ‘सेलिब्रिटी’ नाम हो । एन्जिलाकै करिअरमा आधारित रहेर चलचित्र निर्माणको घोषणा भएको छ ।

उनी चिनियाँ ब्राण्ड लि–निङको ब्राण्ड एम्बासडर हुन् । लि निङको नेपाली आधिकारिक विक्रेता चाइना ट्रेड लिंकले उनको नाममा ‘एएस१६’ नामक ब्राण्ड तयार गर्ने बताएको छ ।

राष्ट्रिय टिमकी दशौं कप्तान

उमेर समूहको राष्ट्रिय टिम हुँदै सिनियर टिममा पुगेकी एन्जिला सन् २०१६ को दक्षिण एसियाली खेलकुद (साग)बाट डेब्यू गरेकी हुन् । त्यसयता उनी लगातार पहिलो रोजाइको गोलरक्षकका रुपमा राष्ट्रिय टिमबाट खेलिरहेकी छन् ।

एन्जिलाका लागि यो तेस्रो साफ हुनेछ । उनी नेपाली महिला टिमको कप्तानी गर्ने दशौं खेलाडी बन्नेछिन् । पछिल्लो पटक सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपमा कप्तानी गरेकी निरु थापाले सन्यास लिइसकेकी छन् भने त्यसपछि कप्तान बनेकी मिडफिल्डर रेनुका चोटका कारण मैदान बाहिर छिन् । टोलीमा रहेको सिनियर खेलाडीका आधारमा एन्जिलालाई कप्तान चयन गरिएको हो ।

दोस्रो पटक साफमा नेपालको प्रशिक्षक सम्हालेका कुमार थापाले आफ्नो टिममा २३ उत्कृष्ट खेलाडी छानेको र त्यसमा अनुभी खेलाडीलाई नेतृत्व दिएको बताए । ‘अनुभवी भएकोले एन्जिलालाई छानेको हो । अरुले कप्तानलाई सपोर्ट गर्छन् । हामी टिमको रुपमा खेल्छौं,’ थापाले भने ।

एन्जिला बाहेक सावित्रा भण्डारी, अनिता बस्नेत, अमृता जैशी, गीता रानामगर नेपाली टिममा अनुभवी खेलाडीको रुपमा छन् ।

नेपालको महिला टिमले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । सन्चारकर्मी रमा सिंह नेपालको पहिलो कप्तान हुन् । उनकै कप्तानीमा नेपालले १९८६ मा पहिलो पटक एसियन च्याम्पियनसिप खेलेको थियो ।

रमा सिंहपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना, निरू थापा र रेनुका नगरकोटेले नेपालको कप्तानी गरिसकेका छन् ।

साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गर्ने एन्जिला पाँचौ कप्तान बन्नेछिन् । यसअघि सन् २०१० र २०१२ को साफमा जमुना गुरुङले नेपालको कप्तानी गरेकी थिइन् भने सन् २०१४ मा अनु लामा, सन् २०१६ मा रेनुका नगरकोटे र सन् २०१९ मा निरु थापाले नेपालको कप्तानी सम्हालेका थिए ।

चन्द्रा भण्डारी र सजना रानाले नेपालले खेलेको मेत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए ।

आफ्नै कप्तानीमा उपाधि जिताउने लक्ष्य

नेपालको सिनियर महिला टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन । चार पटक साफ च्यम्पियनसिप र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

त्यसैले यसपटक उपाधिको तिर्खा मेट्ने प्रशिक्षक कुमार थापाले बताएका छन् । नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्न लाग्दा उपाधि जित्ने अवसर हुनेछ ।

सन् २०१९ मा भएको साफ र सागमा नेपाल घरेलु मैदानमै भारतसँग फाइनलमा पराजित भएको थियो ।

यस पटक सबैको जस्तै नयाँ कप्तान एन्जिलाको पनि उपाधि जित्ने लक्ष्य नै छ । उनले आफुलाई कप्तान बनाएर देखाएको विश्वासलाई काम राख्दै मेहनत गरेर खेल्ने बताएका छन् । ‘मलाई कप्तान बनाएर जुन विश्वास गर्नुभएको छ, त्यसलाई गुमाउन दिन्नँ,’ एन्जिलाले सोमबारको पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

एन्जिलाले हरेक खेलाडीको इच्छा आफ्नो कप्तानीमा उपाधि जिताउने र आफ्नो पनि त्यो चाहना रहेको बताइन् । ‘मैले पहिलो पटक मैले कप्तानी पाएको छु । आफ्नो कप्तानीमा उपाधि जिताउँ भन्ने इच्छा सबैलाई हुन्छ,’ एन्जिलाले भनिन्, ‘हामी च्याम्पियन बन्नकै लागि खेल्नेछौं ।’

टिममा सबैले एक अर्कालाई विश्वास गरेको र हरेकको लक्ष्य जित्नका लागि खेल्ने एन्जिलाको भनाइ छ । उनले थपिन्, ‘बोलेर भन्दा पनि बल खेलेर देखाउने हो ।’

एन्जिला तुम्बापो सुब्बा साफ महिला फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय