
काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘द भ्वाइस नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ३ शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि सञ्चालन गरिसकेको छ । लगातार सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरी ‘द भ्वाइस नेपाल’ चौथो (४) शृङ्खला तर्फ अगि बढेको छ।
रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रम २४ भदौदेखि औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ ।
कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन् ।
यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ भने त्यसपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् । ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्टलाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हिमालयन टिभी र द भ्वाइस नेपालसँग भोटिङ पार्टनरको रूपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए । यो सहकार्यसँगै ‘द भ्वाइस नेपाल’का प्रतियोगी एवं दर्शकहरुका लागि विभिन्न अफरहरु पनि ल्याउने तयारीमा रहेको उनले बताए ।
प्रतिक्रिया 4