
२२ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् ।
उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् ।
राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । यही सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’
उनले पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताए । पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको बताउँदै उनले भने, ‘अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्छ ।’
घटनाको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा भइरहेको उनले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4