
२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्याराबियन पि्रमियर लिग -सीपीएल) क्रिकेट खेल्नका लागि अहिले जमैकामा छन् ।
मंगलबार उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।
१७ वर्षकी पीडित किशोरीले मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा दिएको किटानी जाहेरीमा आफूलाई ५ भदौको राति ११ः५५ बजे पिंगलास्थानस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगेर पटकपटक बलात्कार गरिएको उल्लेख गरेकी छन् ।
जाहेरी पर्ने वित्तिकै प्रारम्भिक सोधपुछ गरेर पीडितलाई स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथली पठाइएको थियो ।
प्रहरीले अहिले होस्टल नजिक भनिएको स्थान, नगरकोट र पिंगालास्थानमा उनीहरु गएको स्थानको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गर्न थालेको छ ।
लामिछाने र पीडित भनिएकी किशोरी गएका बेला कार्यरत कर्मचारीसँग पनि प्रहरीले बयान लिनेछ । प्राविधिक पक्षको विश्लेषणबाट उनीहरुबीच त्यसबेला टेलिफोन कुराकानी भएको थियो थिएन भन्ने पनि प्रहरी निकाल्नेछ ।
उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको पीडितको भनाइ छ । स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।
प्रहरीले तत्काल फेला पर्ने प्रमाणका आधारमा लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिने तयारी गरेको छ । त्यसपछि अनुसन्धानको थप प्रक्रिया अघि बढ्नेछ ।
लामिछाने भने देश बाहिर छन् ।
प्रहरीका अनुसार उनी नेपाल फर्किएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ पर्नेछन् । यसका लागि काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको छ ।
यपद उनी स्थलमार्गबाट आए भने पनि जुनसुकै स्थानमा पक्राउ पर्नसक्ने अवस्था रहन्छ । यदि अनुसन्धान अधिकृतसँग समन्वय गरे र प्रहरीले पनि सहजिकरण गरिदिए उनले आफैं आत्मसमर्पण गर्नसक्ने अवस्था पनि रहन्छ ।
उनी नेपाल नआएको अवस्थामा जिल्ला प्रहरी परिसर, काठमाडौंले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् ।
लामिछानेमाथि लागेको अभियोगबारे उल्लेख गरेर काठमाडौं प्रहरीले डिफ्युजन नोटिस जारी गरिदिन भन्दै नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी) लाई पत्राचार गर्नेछ । त्यसपछि नोटिस जारी हुने प्रक्रिया अघि बढ्नेछ ।
इन्टरपोलमा नोटिस जारी गरेपछि जुनसुकै देशको विमानस्थलमा पक्राउ पर्नसक्छन् ।
तर तीन वर्षसम्म पनि उनी पक्राउ परेनन् र अदालतमा हाजिर भएनन् भने प्रहरीले अदालतमा फाइल बुझाउनेछ । किनकी मुलुकी अपराध संहितामा हालै भएको संशोधनले नाबालिगको बलात्कारमा तीन वर्षका हदम्याद राखेको छ ।
प्रहरीले मुद्दा अदालतमा बुझाएपछि सन्दीपले अदालतमा हाजिर भएर आफ्नो सफाइ पेश गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया 4