+

क्यान व्यवस्थापनमाथि पनि उठ्यो प्रश्न

२०७९ भदौ  २२ गते १५:०९ २०७९ भदौ २२ गते १५:०९
क्यान व्यवस्थापनमाथि पनि उठ्यो प्रश्न

२२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध बलात्कारको जाहेरी परेको छ । पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा दिएको दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते पीडितलाई नगरकोट पु¥याएर काठमाडौं ल्याई एक होटलमा रातभर पटक पटक बलात्कार गरेको उल्लेख छ ।

घटना भएको भनिएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थिए । नेपाल टिम केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखलाका लागि भोलिपल्ट (भदौ ६) गते नैरोवी प्रस्थान गर्ने कार्यतालिका थियो ।

सामान्यतः राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आकस्मिकबाहेक बाहिर जाने छुट हुँदैन । आकस्मिक रुपमा बाहिर जानैपर्ने भए कारणको गम्भीरतालाई मूल्यांकन गरी व्यवस्थापनको अनुमतिमा जान पाइन्छ ।

तर राष्ट्रिय टिमका कप्तान सन्दीप राष्ट्रिय टिमका म्यानेजरसँग पनि अनुमति नलिई होटलबाट निस्किएको पाइएको छ । केन्याको शृंखला सकेर बुधबार काठमाडौं आइपुगेको नेपाली टिमका म्यानेजर सुनील महासेठले भदौ ५ गते सन्दीप टिमसँगै होटलमा नरहेको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

क्यानका क्रिकेट म्यानेजर तथा राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले प्रशिक्षण नभएको समयमा केही कारणले खेलाडी होटल बाहिर जानु सामान्य भएको बताए । ‘कोरोना महामारीका बेला हामीले टिमलाई नै आइसोलेट गरेका थियौं । त्यतिबेला कसैलाई पनि बाहिर जान वा अरु व्यक्तिलाई भेट्न छुट थिएन,’ दासले अनलाइनखबरसँग भने, ‘तर पहिलेदेखि नै चल्दै आएको परम्परा के हो भने प्रशिक्षण नभएको समयमा खेलाडीहरु बाहिर जान पाउँछन्, तर त्यसबारे व्यवस्थापनका कोहीलाई जानकारी गराउनुपर्नेछ ।’

सन्दीपले आफू होटलबाट बाहिरिने समयमा कसैलाई जानकारी गराएकोबारे आफूलाई थाहा नभएको दासले बताए । उनले भने, ‘क्यानले यसबारे आफ्नो आधिकारिक धारण सार्वजनिक गर्नेछ ।’

बन्द प्रशिक्षणमा रहेका खेलाडी आफू खुसी निस्किएको यो घटना पहिलो भने होइन ।

२०७६ मंसिरमा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जानु अघिल्लो रात राष्ट्रिय फुटबल टिमका चारजना खेलाडी सातदोबाटोस्थित एन्फा होस्टेलबाट निस्किएर नाइट क्लब पुगेका थिए । एन्फाले त्यतिबेला विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनको कारबाही गरेको थियो ।

सन्दीप यतिबेला वेष्ट इण्डिजमा छन् । केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको नेतृत्व गरेपछि अघिल्लो साता उनी क्यारेवियन प्रिमियर लिग (सीपीएल)का लागि जमैका पुगेका हुन् । उनी जमैका तल्हवाजबाट प्रतियोगिता खेल्दैछन् ।

उनको विषयमा क्रिकेट संघले साँझ निर्णय गर्ने बताइएको छ ।

नेपाल क्रिकेट संघ सन्दीप लामिछाने
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय