
२२ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोकेको छ ।
चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार स्तरोन्नतिमा हुन नसकेका शिक्षण संस्थाहरुमा भर्ना रोकिएको आयोगका अध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।
ऐनले फेजआउट गरेका १ सय २२ मध्ये गत फागुनमा ६५ वटा शिक्षणसंस्थालाई आयोगले स्तरोन्नति गर्न अनुमति दिएको थियो । ती ६५ शिक्षण संस्थामध्ये आयोगले ४० वटा शिक्षणसंस्था मात्र विद्यार्थी भर्ना गर्न योग्य रहेको जनाएको छ ।
आयोगले सूचना जारी गर्दै २५ वटा शिक्षणसंस्थाले मापदण्ड पूरा नगरेको उल्लेख गरेको छ । ती शिक्षण संस्थाहरुले शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षक, भवन, कक्षाकोठा, अस्पताल, ल्याबलगायतका मापदण्ड पूरा नगरेको, अनुगमनको क्रममा फेला नपरेको आयोगले जनाएको छ ।
सिट निर्धारणका लागि गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका शिक्षणसंस्थामा भर्ना रोकिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए । उनले भने ‘सिट निर्धारणको लागि गरिएको अनुगमनको क्रममा मापदण्ड पूरा नगरेको पाईएपछि यस वर्षको लागि भर्ना रोकिएको हो ।’
उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गर्दै ६५ शिक्षणसंस्थाले १ सय ४ वटा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्ततरोन्नतिमा अनुमति पाएको मध्ये ४० शिक्षणसंस्थाका ५२ वटा शैक्षिक कार्यक्रम मात्रै विद्यार्थी भर्ना हुन सूचित गरेका छन् ।
सीटीईभीटीले भने पठनपाठनका लागि ६५ वटै शिक्षणसंस्थामा सिट निर्धारण गर्न आयोगमा सिफारिस गरेको थियो । तर आयोगले अनुगमनको क्रममा मापदण्ड पुरा नगरेको भन्दै विद्यार्थी भर्ना गर्न अयोग्य ठहर गरेको छ ।
प्रतिक्रिया 4